न्यायिक समितिका पदाधिकारीलाई तालिम



बैतडी, (नेस)

बैतडीका ७ ओटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सञ्चालन भएको तालिममा न्यायिक समितिका संयोजक, न्यायिक समितिका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो।

तालिममा लैगिंक हिंसामा परेकालाई न्यायिक समितिले प्रदान गर्ने सेवाका बारेमा छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो।

न्यायिक समितिका पदाधिकारीलाई स्थानीयस्तरमा न्याय निरुपण गर्दा आवश्यक पर्ने कानुनी ज्ञानका विषयमा पनि तालिममा छलफल भएको उहाँले बताउनुभयो।

तालिमले न्यायिक समितिका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका न्यायिक समितिका संयोजक जानकी बमले बताउनुभयो।तालिमले न्यायिक समितिले सम्पादन गर्नुपर्ने काम र स्थानीयस्तरमा न्याय निरुपणमा सहयोग पुग्ने मेलौली नगरपालिकाका न्यायिक समितिका संयोजक राधा ओझाले बताउनुभयो।

तालिममा शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका न्यायिक समितिका संयोजक, सदस्य र कर्मचारीको सहभागिता रहेको थियो।

तीनओटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूका लागि दोस्रो चरणमा तालिम सञ्चालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्