चाडपर्व सकिएसँगै सुनसान बन्दै सुदूरपश्चिमका गाउँघर



विमल विष्ट, डोटी।

नेपालीहरूको महान चाड विजया दशमी र दिपावली बेला पुरै चहल पहल भएका सुदूरपश्चिमका गाँउहरू बिस्तारै सुनसान बन्दै गएका छन्। दशैं र तिहारको समयमा पुरै रौनक छाएका यहाँका ग्रामीण बस्तीहरूमा बिस्तारै रौनक हराउँदै जान थालेको छ।

दशंै तिहार मनाउन जिल्लाबाहिर तथा विदेशबाट आफ्नो घर आएका स्थानीयवासी बिस्तारै आफ्नो काममा फर्किनका लागि गाँउ छाड्न शुरू गरिसकेका छन्। उनीहरू फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीहरूमा चहल पहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताउनुभयो।

‘परदेश गएकाहरू चाडवाडमा घर आएका कारण गाउँमा रमाइलो थियो,’ उहाँले भन्नुभयो– ‘अहिले उनहरू फर्किन थालेपछि यहाँका गाउँघर प्राय सुनसान हुन थालेका छन्।”सहर बजार र टाढा टाढा बाट आएका मानिसहरू फर्किन शुरू गरेसँगै यहाँका गाउँ घर एकाएक सुनसान हुन थालेका हुन्।

पढ्न सहर छिरेका र जिल्लाबाहिर जागिर गर्नेहरूले पनि गाँउ छाड्न थालेसँगै गाँउहरू सुनसान हुन थालेका हुन। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थीहरू पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुँने सवारी साधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इन्चार्ज प्रेम रावलले बताउनुभयो।

‘हिजो आज जिल्लाबाहिर फर्किनेहरूका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, उहाँले भन्नुभयो, ‘हामीसँग प्रयाप्त सवारी साधन नहुँदा केही समस्या हुँदै आएको छ।’ जिल्ला बाहिर फर्किनेहरूको सख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउनसमेत सकस हुने गरेको यात्रुहरू बताउछन्।

दशै र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाँउघरमा बिस्तारै रौनक हराउन थालेको दीपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसाय समिति डोटीका प्रमुख दुर्गा पन्तले बताउनुभयो। ‘घर फर्किका स्थानीय गाउँ छोड्न थालेका छन्,’ उहाँले भन्नुभयो– ‘यहाँका गाँउमा बालबालिका र वृद्धवृद्धामात्र हुने भए।’

यहाँका गाउँघरमा पढ्न बजार छिरेका तथा रोजगारीका लागि जिल्लाबाहिर गएका स्थानीयहरू प्रायः वर्षको एक पटक दशंै तिहारको बेला मात्रै गाँउघर आउने गर्दछन्। दशैंका बेला सुनसान देखिएका यहाँका पहाडी जिल्लाका सदरमुकामहरूमा भने अहिले चहलपहल शुरू भएको छ।

दशैं र तिहार गाँउमात्र होइन सदरमुकामबाट बाहिरिनेको संख्या धेरै हुने हुँदा यहाँका सदरमुकाम केही हप्ता सुनसान रहेका थिए। अहिले भने यहाँका सदरमुकामका पसल, कार्यालय तथा सार्वजनिक स्थानमा एकाएक चहल पहल बढेको होटेल व्यवसाय संघका अध्यक्ष दीपकबहादुर खड्काले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चाडबाड र जात्राले केही हप्ता यहाँका सदरमुकाम सुनसान थिए अहिले गाउँघर गएकाहरू शहर फर्किन थालेपछि बजारमा चहल पहल बढेको छ।’ त्यस्तै चावबाड मनाउन डोटीबाट आफ्ना घर गएका कर्मचारीसमेत अहिले जिल्ला स्थित आफ्नो कार्यालयमा फर्किएपछि सरकारी कार्यालयहरू पनि कर्मचारीले भरिभराउ भएका छन्।

यहाँका गाउँघर बाट युवा तथा कर्मचारी आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा रहेका छन्। गाउँमा युवाहरू नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्थाको भएको केआईसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘गाउँघर युवाबिहीन हुँदैछन्, कोही मर्दासमेत मलामी जानेको समस्या हुने अवस्था आएको छ।’

प्रतिक्रिया दिनुहोस्