नेपाल घुम्न आएका ५ युक्रेनी भारतमा पक्राउ



नेपाल समाचारपत्र, भद्रपुर।

नेपालको झापा घुम्न आएका ५ विदेशी नागरिकले बाटो बिर्सिंदा भारतीय प्रहरीले पक्राउ गरेको छ। युक्रेनी नागरिक रहेका २ महिला र ३ पुरुषलाई नेपालको सीमा नाघेपछि भारतीय एसएसबीले नियन्त्रणमा लिएर स्थानीय भारतीय सुखानी थाना प्रहरीलाई बुझाएको छ।

पक्राउ पर्नेमा ३० वर्षीया मेरिना रुडियुक, ३३ वर्षीय भोलोडिमार कोभालचुक, ३५ वर्षीया लिलिया कोभालचुक, ३५ वर्षीय ओलेक्जेन्डर कोपटिभ र २६ वर्षीय इभान सेच रहेका छन्।

कसरी भयो त घटना ?

बुधबार झापाको बनियानीमा रहेको होली फिल्ड स्कुलमा स्यमसेवक काम गर्ने युक्रेनका २ शिक्षिका साथीलाई भेट्न उनीहरू स्कुल पुगेका थिए।त्यहाँबाट नजिकै रहेको नेपालको होचो भूभाग केचना घुम्न २ मोटरसाइकलमा ३।२ जना गरी बसेर नेपाल भारतको सीमाको ५० मिटरअघि बढेर फर्किन खोज्दा बाटो बिर्सिएर भारतीय एसएसबीले नियन्त्रणमा लिएको थियो।

भारत प्रवेश गर्ने अनुमति प्रमाण नभएपछि मे५प ४८० र मे६प ५८७९ नम्बरको मोटरसाइकलसहित उनीहरूलाइ पक्राउ गरेको थियो। उनीहरूलाइ एसएसबीले सुखानी थानालाई जिम्मा लगाएको थियो।

पक्राउ परेका विदेशी नागरिकहरू ११ नोभेम्बर नेपाल आएको र १५ दिनको नेपाल भ्रमण गर्ने भिसा अनुमति रहेको छ।बिहीबार बिहान नेपाल प्रहरीले भारतीय समकक्षीसँग कुरा गरेपनि माथिल्लो निकायमा जानकारी गरी सकेकोले उनीहरूलाई किशनगञ्ज जिल्ला अदालतमा बुझाइसकेको जानकारी दिएको छ।

सिमाना पत्ता लगाउन नसकेका कारण भारत प्रवेश गरेपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो।

भारतीय देशको कानुनअनुसार हुने भएकोले नेपालबाट केही गर्न नसकिने उहाँले जनाउँनुभयो। जरिवाना मात्र गरेर छाड्यो भने नेपाल आउने र मुद्दा चलायो भने जेलजान सक्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्