‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा सेना राख्नुपर्छ’



यमलाल भुसाल, बुटवल ।

नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल पनि भएकाले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र नेपाली जनताको स्वाभिमान रक्षाको
लागि पनि अतिक्रमित भूमिमा नेपाली सेनाको टुकडी राख्न नेपाली कांग्रेसले आग्रह गरेको हो।

नेपाली कांग्रेसको भातृ संस्था थारु संघ रूपन्देही र किसान संघ रूपन्देहीले बिहीबार रूपन्देहीको शद्धोधन गाउँपालिका फर्साटिकरमा आयोजना गरेको भारतीय हेपाहा प्रवृत्ति र सरकारको मौनताविरुद्धको प्रदर्शनमा नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले भारतले आफ्नो नक्सामा पारेको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्नुपर्ने पार्टीको प्रस्ट माग रहेको जानकारी गराउनुभएको हो।

उहाँले भूमि अतिक्रमण हुँदासम्म पनि सरकारको मौनताले राष्ट्रियताको उपहास भएको बताउँदै खोक्रो राष्ट्रियताको जगमा बनेको ओली सरकारले राष्ट्रियता बेचेका कारण नेपाली भूमि अतिक्रमणको दुस्साहस गरेको आरोप लगाउनुभयो।

विरोध कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रमा अर्यालले नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बसेकाले सरकारको विरोधमा उत्रिनुपरेको बताउँदै दुई तिहाईको बलमा बसेको भएपनि इतिहासकै कमजोर सरकार बनेको उल्लेख गर्नुभयो। उहाँले दुईतिहाईको शक्तिशाली सरकारले राम्रा काम गर्ने भन्दा पनि काण्डै काण्डमा फसेको समेत आरोप लगाउनुभयो।

त्यस्तै अर्की प्रदेशसभा सदस्य पुष्पा थरुनीले भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको बताउँदै आफ्नो भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बसेको र गम्भीर नभएको औंल्याउनुभयो।

कार्यक्रममा थारु संघ रूपन्देहीका अध्यक्ष सन्तराम चौधरी, किसान संघ रूपन्देहीका अध्यक्ष गिरीराज पाठक, थारु संघकी उपाध्यक्ष सरिता चौधरीलगायतले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले भारतले हेपाहा प्रवृत्ति देखाएर आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको बताउँदै भूमि फिर्ता नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्