पर्यटन पूर्वाधारका लागि बजेट



बैतडी, (नेस)।

सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा भएका क्षेत्रहरूमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको हो।

बैतडीको दशरथचन्द नगरपालिकामा २५ लाख र पाटन नगरपालिकामा २५ लाख बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको बजेटमा पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको जनाएको छ।

सरकारले गत वर्ष घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमा बैतडीको दशरथचन्द नगरपालिकास्थित त्रिपुरा सुन्दरी भगवती मन्दिर अटाएको छ। यस्तै पाटनको सिद्धनाथ उदयदेव धार्मिक स्थललाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको रूपमा उल्लेख गरेको छ। सरकारले घोषणा गरेको यी गन्तव्यहरूको विकास र प्रवद्र्धनका लागि बजेट विनियोजन गरिएको हो।

बजेट कार्यान्वयनको विषयमा अहिलेसम्म जानकारी भने नआएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताउनुभयो। पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन भएको रकम संघीय सरकार आँफैंले वा स्थानीय तह कसले कार्यान्वयन गर्ने भन्ने विषयमा जानकारी नआएको दशरथचन्द नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्