भन्सारमै थन्कियो विद्यालयका पुस्तक



हेटौंडा, (नेस) ।
७८ वर्षीय एक ज्येष्ठ विदेशी नागरिक डोरिन जस्टनले मकवानपुरका केही सामुदायिक विद्यालयमा ६ वर्षदेखि पुस्तकालय स्थापना गर्न सिंगापुर र मलेसियाबाट पुस्तकहरु ल्याउने गरिरहनुभएको छ ।

उहाँले हालसम्म २२ विद्यालयमा पुस्तकालय स्थापना, शिक्षक तालिम र पुस्तकालयका लागि आवश्यक भौतिक सामग्री जुटाउने काममा प्रत्यक्ष सहयोग गरिरहनुभएको छ । तर, उहाँले नेपाली विद्यार्थीका लागि ल्याएको पुस्तक करिब एक महिना अघिदेखि अड्किएको छ । करिब १ हजार ५ सय थान पुस्तक भन्सारमा थन्किरहेको अबस्थामा सामुदायिक विद्यालयमा प्रयोग हुने ती पुस्तकको भन्सार छुट गर्न गराउन धेरै प्रयत्न र प्रयासहरु भए पनि ।

यसबीचमा धेरै जनासँग अनुरोध गरियो । तर बिडम्वना, पुस्तकको भन्सार छुट हुन सकेन । प्रतिदिन ९ हजारका दरले जरिवानासमेत तिर्नुपर्ने भनी जानकारी प्राप्त भयो ।

‘यसो हुँदा कताकता अप्ठेरो लाग्छ । कानुन र कार्यशैली केकस्ता हुन् । कतै अपजस आउने त सहजीकरण गर्ने खालको रहेनछ,’ दाता डोरिनले भन्नुभयो । तिनै विदेशी नागरिक निकै चिन्तित हुनुहुन्छ । ‘मैले ल्याएको किताब नेपालका बालबालिकाले प्रयोग गर्न पाउँदैनन त ?,’ उहाँको प्रश्न छ ।

सबै प्रकारका पुस्तकलाई एउटै डालोमा राखेर नियम लगाउन नहुने भन्दै हेटौंडाको शिक्षासेवामा कार्यरत् बद्रीबहादुर पाठक भन्नुहुन्छ–कतिपय प्राविधिक किताब हुन्छन्, जुन पढ्दा पैसा खर्च हुन्छ र पढेर ज्ञान लिएपछि पैसा कमाउने बाटो हुन्छ । त्यस्ता पुस्तकमा सरकारले अर्को कुनै नीति ल्याउनुपर्छ ।

भर्खर पढ्न बानी बसल्न लागेका बालबालिकाहरु यस नियमबाट निरुत्साहित हुने उहाँको ठम्याइँ छ । क्रयशक्ति नभएका नेपाली विद्यार्थीमाथि १० प्रतिशत महसुलका कारण अतिरिक्त आर्थिक भार थपिने स्पष्ट रहेको उहाँको गुनासो छ ।

सरकारले पहिलोपटक पुस्तक आयातमा भन्सार लगाएको हो । ‘ज्ञानमा कर’ लगाइएको भन्दै यसको आलोचना पनि जारी छ । जेठ १५ गते आर्थिक विधेयकमार्फत् सरकारले सबैखाले आयातीत पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको हो ।
‘घरघरमा पुस्तक र टोलटोलमा पुस्तकालय’ नारा ल्याएको सरकारले नै पुस्तकमा भन्सार लगाएको हो । ज्ञानको संवाहक मानिने पुस्तकको आयातमा भन्सार महसुल लगाउने सरकारी कदमलाई कतिपयले अव्यबहारिक नीतिको संज्ञा दिएका छन् । यसविरुद्ध पुस्तक बिक्रेताहरुले श्रृंखलावद्ध आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले विदेशबाट आयात हुँदै आएका कतिपय पुस्तकहरु पनि बीचमा रोकिएका छन् । नेपालमा भारतबाट ८० र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्