मदिरा बिक्री र खानेलाई वडाले कारवाही गर्ने



डोटी, (नेस)।

डोटीको शिखर नगरपालिका–१ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारबाही गर्ने भएको छ।

सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको र विभिन्न घटना बढ्न थालेको भन्ने गुनासो आएपछि उक्त मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई १० हजार र खानेलाई रु ५ हजार जारिवाना गर्ने निर्णय गरिएको सो वडाका वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘वडामा मदिरा बिक्री वितरण गर्ने तथा सेवन गर्नेलाई हामीले कारबाही गर्ने निर्णय गरेका छौं, वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजय हुन्छ।’

वडामा मदिराका कारण विभिन्न घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि वडाले उक्त निर्णयले लिन बाध्य भएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो।

पछिल्लो समय डोटीमा प्रहरी, प्रशासन तथा स्थानीय तहले आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन्।

यो वर्ष मात्रै मदिराका कारण कम्तिमा एक दर्जन घटना भइसकेको डोटी प्रहरीको तथ्यांमा उल्लेख गरिएको छ।

मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भए पनि गाउँमा लुकीछुपी मदिरा बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको डोटी प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्