सात स्थानीय तहमा वर्षौदेखि विद्युत् र सञ्चारको समस्या



विमल विष्ट, डोटी।

डोटी जिल्लाका सातवटा स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षांैदेखि समस्या हुँदै आएको छ।
यहाँका सातवटा स्थानीय तह जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्विचौकी, आदर्श र केआईसिंहमा गतिलो विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ।

स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत यहाँका सातवटा स्थानीय तहमा अहिलेसम्म विद्युत् र सञ्चारको समस्या समाधान हुन नसकेको सायल गाउँपालिकाका स्थानीय शिद्धराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभया– ‘स्थानीय सरकार गठन भएको दुई वर्ष भइसक्यो स्थानीय तहमा गतिलो सञ्चार र विद्युत सेवा पुगेको छैन, कतिपए वडामा टुकीको भरमा बस्नु पर्ने अवस्था सृजना भएको छ।’

विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँ बस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकार नै अध्यारोको समस्या भोग्न बाध्य छ।

यहाँका सातवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा नहुँदासमेत त्यसको समाधानका लागि कसैले पनि पहल नचालेको स्थानीयको आरोप छ।

जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने शिखर नगरपालिका विद्युत् र सञ्चारको चरम समस्या देखिएको स्थानीय डिलबहादुर महराले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अरु स्थानीय तहभन्दा हाम्रो नगरपालिका केही विकसित छ तर भरपर्दो सञ्चार अहिलेसम्म छैन, फोन गर्न पनि मुस्किल हुने गरेको छ।’

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ मा नेपाल टेलिकमले निर्माण गरेको जीएसएम टावरले राम्रोसँग काम नगरेका कारण त्यहाँका वडा न.५, ६ का स्थानीयहरू सञ्चार सम्पर्कबाट टाढा भएको स्थानीय ललित विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘टेलिकमले टावर त बनायो तर बत्ती नहुँदा घाम लागेको दिन मात्रै टावरले काम गर्छ, घाम नलागेको दिनमा हामी फोन गर्नबाट समेत बञ्चित हुने गरेका छौं।’ भरपर्दो टेलिफोन सुविधा नहुँदा ती वडाका नागरिकले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन्।

जिल्लाकै सायल गाउँपालिकामा बनेको सायली गाड जलविद्युत् योजना पटक पटक अबरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमा रहेको स्थानीय धु्रवबहादुर सिंहले बताउनुभयो।

पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युतको जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘गाउँमा खासै फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि टाढा हिँडेर डाँडामा जानुपर्छ, घरमै फोन नलाग्दा साह्रै समस्या भएको छ।’

कोही बिरामी पर्दा, महत्वपूर्ण खबर गर्दा रातिको समयमा साह्रै समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ।

त्यस्तै यहाँका स्थानीय तहमा विद्युत र सञ्चार सुबिधा नहुँदा स्थानीय तहबाट प्रप्त हुने सेवा सुविधा लिनसमेत समस्या हुँदै आएको बडीकेदार गाउँपालिका–१ का स्थानीय चक्रबहादुर मेटेलीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘स्थानियतहमा विद्युत, सञ्चार छैन सामान्य फोटोकपी गर्नसमेत घन्टौं टाढा जानु पर्छ, निकै समस्या भएको छ।’

सञ्चार र विद्युत नभएका कारण यहाँका अधिकाश स्थानीय तहले आफूले गरेका काम कारबाही आफ्नो वेभसाइडमा समेत राख्न सकेका छैनन्।

उता सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष दुर्गादत्त ओझाले डोटीका सबै स्थानीय तहमा भरपर्दो सञ्चार सुविधा जडानका लागि आवस्यक पहल भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘भरपर्दो सञ्चार सुविधा जडानका लागि नेपाल टेलीकमसँग कुरा भएको छ, सम्भवत चाडैं समस्या समाधान होला।’

यहाँका स्थानीय तहमा भरपर्दो सञ्चार सुविधा तथा विद्युत नपुगेका कारण बैंकिङ कारोबार गर्ने वित्तीय संघ संस्थाहरू अहिलेसम्म स्थानीय तहमा जान सकेका छैनन्।

केही वित्तीय संघ–संस्था गाउँमा गए पनि विद्युत र सञ्चार नहुँदा उनीहरूको आर्थिक कारोबार जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट नै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्