विद्युत् महशुल नबुझाउनेको लाइन कटान शुरू, अस्पतालदेखि उद्योग निशानामा



नेपाल समाचारपत्र, विराटनगर।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ। त्यसरी लाइन काटिनेमा उद्योगदेखि अस्पतालसम्म छन्। विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार सो कार्यालयले विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न शुरू गरेको छ।

विराटनगर जुट मिलको भने तीन महिना अघि नै लाइन काटिएको हो। विराटनगर जुट मिलले मिलतर्फको मात्रै ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ। त्यस्तै क्वाटरमा दिएको लाइनको २ लाख २२ हजारसमेत गरेर सो मिलसँग प्राधिकरणले १ करोड जति महशुल लिन बाँकी छ।

त्यस्तै कोशी अस्पतालले २८ लाख बराबरको महशुल तिर्न बाँकी छ। सो अस्पतालको विद्युत् लाइन गत असारमै काट्न खोज्दा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले फोन गरेर रोक्नु भएको थियो। त्यसलगत्तै अस्पतालले १ करोड रूपियाँ तिरेको थियो।

अहिले फेरि २८ लाख बराबर महशुल पुगेको प्राधिकरणले बताएको छ। रेलवेले ५ लाख १९ हजार ९ सय ३० रूपियाँ महशुल तिर्न बाँकी छ।विद्युत प्राधिकरणको विराटनगर वितरण कार्यालयअन्तर्गत ६७ हजार ६ सय ६१ ग्राहक छन्।

विराटनगर महानगरपालिका, जहदा, कटहरी, बूढीगंगा र ग्रामथान गाउँपालिका विराटनगर वितरण कार्यालयअन्तर्गत पर्दछन्। मासिक २४ करोडको हाराहारीमा विराटनगर वितरण कार्यालयले महशुल उठाउँदै आएको छ।

विराटनगर वितरण कार्यालयले रानी सबस्टेशन र टंकी सबस्टेशनबाट ११ केभी र ३३ केभीमार्फत विद्युत् आपूर्ति गर्दै आएको छ। उच्चतम् विद्युत् माग भएका बखत विराटनगर वितरण कार्यालयअन्तर्गत ५६ मेगावाट विद्युत् खपत हुने गर्दछ। सो कार्यालयले महशुलमा कडाई गर्नुका साथै विद्युत् चुहावट घटाउन पनि अभियान थालेको छ।

आर्थिक वर्ष २०७४÷०७५ मा विद्युत् चुहावट १२ दशमलव ८६ प्रतिशत रहेकोमा अहिले चुहावट प्रतिशतलाई ९ दशमलव ६८ प्रतिशतमा झारेको सो कार्यालयका प्रमुख सिंहले बताउनुभयो। ग्राहकको बढ्दो संख्यासँगै विद्युत खपत बढे पनि ट्रान्सफरमरको क्षमता नबढाउँदा क्षमताले नभ्याउने गरेकाले बारम्बार लाइन जाने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्