बैतडीका ७२ वटा वडा सचिव विहिन



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीका ८४ वडा मध्ये ७२ वडा सचिव विहिन भएका छन् । वडाहरुमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एक वडामा पनि सचिव छैनन् ।

ती सबै स्थानीय तहहरुले प्राविधिक सहायक,कार्यालय सहायक र सामाजिक परिचालक मार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका १० वडा मध्ये ७ वडा सचिव विहिन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै डिलाशैनी गाउँपालिका ७ वडा मध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो । दोगडाकेदार गाउँपालिका ८ वडा मध्ये २ वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

यस्तै पुरचौंडी नगरपालिकाका १० वडा मध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो । सुर्नया गाउँपालिकाका ८ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडा मध्ये ४ ओटामा मात्रै सचिव रहेका बताइएको छ ।

वडा कार्यालयहरुमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्र सम्म धाउनु परीरहेको स्थानीयहरुले बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आसा गरेका नागरिक निराश हुन थालेका छन् । कर्मचारीको अभावमा वडाहरुमा सेवा नपाउँदा उनीहरु खिन्न भएका हुन् । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारी विहिन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्