समातिएका सवारी साधन न्युन जरिवानामा छोडेको आरोप



नेपाल समाचारपत्र, विराटनगर।

खोलाको ढुंगागिट्टी बालुवा अवैधरूपमा उत्खनन गर्दागर्दै सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारी साधन सम्बन्धित वडा कार्यालयले न्यून जरिवाना लिई छोडेको सरोकारवालाको आरोप छ।

झुठो विवरणको आधारमा ३ टिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएका छन्। विराटनगरको ४ नम्बर वडा र दुहबीको वडा नम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरूपमा उत्खननमा प्रयोग गरिहेको अवस्थामा मोरङ प्रहरीले सोमबार १ दर्जन सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सो क्रममा विराटनगरतर्फबाट ४ वटा ट्रयाक्टर र दुहबीतर्फबाट भरौट खन्न प्रयोग गरिएको एउटा एस्काभेटरसहित ७ वटा टिप्पर नियन्त्रणमा लिइएको थियो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी तथा मोरङका डीएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरीले मोरङ र सुनसरीतर्फबाट ती सवारीसाधन नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टर महानगरपालिकाले थप कारबाहीका लागि त्यहाँको वडा कार्यालयमा पठाएको थियो। ती ट्रयाक्टरलाई वडा कार्यालयले प्रति ट्रयाक्टर २ हजारका दरले जरिवाना गरेको छ। घटनास्थलबाट नभई कञ्चनवारी चौकबाट ट्रयाक्टर नियन्त्रणमा लिइएकाले कम जरिवाना गरिएको वडाध्यक्ष देवेन्द्रराज पोखरेलको भनाइ छ।

वडाध्यक्ष पाखरेलले यस्तो दाबी गरे पनि माटो बोकेर डिलतर्फ आउँदै गरेका ट्रयाक्टर चालक सोमबार भागेको तस्वीर क्यामेरमा कैद भएका छन्। यसअघि सोही ठाँउबाट भदौ ९ गते नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टरलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजारका दरले जरिवाना गरेको थियो।

प्रहरी र पत्रकार सहितको टोली घटनास्थलमा पुग्दा सुनसरीतर्फ एस्काभेटर प्रयोग गरेर नियमविपरीत उत्खनन हुँदै थियो। खोलाको मुल बहाव तथा नजिकै रहेको पुलभन्दा ३ सय १० मिटर उत्तरतर्फ अवैधरूपमा भरौट उत्खननको कार्य जारी थियो।

त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको ७ टिपर र एउटा एस्काभेटर थप कारबाहीका लागि दुहबी नगरपालिकामा पठाएको थियो। तर दुहबी नगरपालिकाले भने ३ वटा टिपरलाई बिना कारबाही तथा उत्खननमा एस्काभेटर प्रयोग नभएको भन्दै त्यसै छाडेको छ।

बाँकी ३ टिपरलाई भने ५–५ हजारको जरिवाना गरिएको नगरपालिकाले जनाएको छ। घटनास्थलमा सञ्चारकर्मी पुगेको र एस्काभेटरसमेत प्रयोग भएको विषयमा प्रश्न गर्दा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले त्यसलाई अस्वीकार गर्नुभयो। उहाँले एस्काभेटर सडक निर्माणमा खटिएको दाबी गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्