भन्सारमै थन्किए विद्यालयका पुस्तक



हेटौंडा, (नेस)।

विदेशी नागरिक डोरिन जस्टनले नेपाली विद्यार्थीका लागि ल्याएको पुस्तक करिब एक महिना अघिदेखि भन्सारमा अड्किएको छ। भन्सारमा थन्किरहेको सामुदायिक विद्यालयमा प्रयोग हुने करिब १ हजार ५ सय थान पुस्तक भन्सारबाट छुटाउन धेरै प्रयत्न र प्रयास भए पनि सफल हुन सकेको छैन।विगत ६ वर्षदेखि मकवानपुरका केही सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न ७८ वर्षीय विदेशी नागरिक डोरिन जस्टनले सिंगापुर र मलेसियाबाट पुस्तक ल्याउने गर्नुभएको छ।

उहाँले हालसम्म २२ विद्यालयमा पुस्तकालय स्थापना, शिक्षक तालिम र पुस्तकालयका लागि आवश्यक भौतिक सामग्री जुटाउने काममा प्रत्यक्ष सहयोग गर्नुभएको छ। यसबीचमा धेरै जनासँग अनुरोध गरियो। तर बिडम्वना, पुस्तकको भन्सार छुट हुन सकेन। प्रतिदिन ९ हजारका दरले जरिवानासमेत तिर्नुपर्ने भनी जानकारी प्राप्त भएको बताइएको छ।

‘यसो हुँदा कताकता अप्ठेरो लाग्छ। कानुन र कार्यशैली के–कस्ता हुन्। सबैतिर अपजस आउने र असहयोग गर्ने खालको वातावरण रहेछ,’ दाता डोरिनले भन्नुभयो। पुस्तक भन्सारमा थन्किँदा सहयोगी भावनाका विदेशी नागरिक निकै चिन्तित हुनुहुन्छ। ‘मैले ल्याएको किताब नेपालका बालबालिकाले प्रयोग गर्न पाउँदैनन् त ?,’ उहाँको प्रश्न छ।

सबै प्रकारका पुस्तकलाई एउटै डालोमा राखेर नियम लगाउन नहुने भन्दै हेटौंडाको शिक्षासेवामा कार्यरत बद्रीबहादुर पाठक भन्नुहुन्छ– ‘कतिपय प्राविधिक किताब हुन्छन्, जुन पढ्दा पैसा खर्च हुन्छ र पढेर ज्ञान लिएपछि पैसा कमाउने बाटो हुन्छ। त्यस्ता पुस्तकमा सरकारले अर्को नीति ल्याउनुपर्छ।’

भर्खर पढ्न बानी बसाल्न लागेका बालबालिकाहरू यस नियमबाट निरुत्साहित हुने उहाँको ठम्याइँ छ। क्रयशक्ति नभएका नेपाली विद्यार्थीमाथि १० प्रतिशत महसुलका कारण अतिरिक्त आर्थिक भार थपिने स्पष्ट रहेको उहाँको गुनासो छ।

सरकारले पहिलोपटक पुस्तक आयातमा भन्सार लगाएको हो। ‘ज्ञानमा कर’ लगाइएको भन्दै यसको आलोचना पनि जारी छ। जेठ १५ गते आर्थिक विधेयकमार्फत सरकारले सबै खाले आयातित पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको हो।

‘घरघरमा पुस्तक र टोलटोलमा पुस्तकालय’ नारा ल्याएको सरकारले नै पुस्तकमा भन्सार लगाएको हो। ज्ञानको संवाहक मानिने पुस्तकको आयातमा भन्सार महसुल लगाउने सरकारी कदमलाई सरोकारवालाले अव्यावहारिक नीतिको संज्ञा दिएका छन्।

यसविरुद्ध पुस्तक बिक्रेताले श्रृंखलाबद्ध आन्दोलन घोषणा गरेका छन्। उनीहरूले विदेशबाट आयात हुँदै आएका कतिपय पुस्तकहरू पनि बीचमा रोकिएका छन्। नेपालमा भारतबाट ८० र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने हुने गरेको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्