डोजर आक्रमण प्रकरण छानबिन गर्न समिति गठन चालकमाथि अनुसन्धान शुरू



विनोद सिंह विष्ट, बैतडी।

डोजोजरले स्थानीय नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। बुधबार घटनाको विषयमा बुझ्नका लागि छानबिन समिति घटनास्थल पुगेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो।

‘समितिले स्थलगत अध्ययन गरी ४८ घण्टाभित्र प्रतिवेदन बुझाउनेछ,’ उहाँले भन्नुभयो, ‘छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउनेछ’।सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो।

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरीक्षक, दशरथचन्द नगरपालिकाका इन्जिनियर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर र अनुसन्धानका १ जना गरी पाँच सदस्य रहेका छन्।

यसैबीच ज्यान मार्ने उद्योग गरेको आरोपमा डोजर चालकविरुद्ध अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो।
बैतडी प्रहरीले डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योग गरेको आरोपमा अनुसन्धान शुरू गरेको हो।

प्रहरीले बैतडीको दशरथचन्द नगरपालिका–९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहरा विरुद्ध अनुसन्धान शुरू गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो।

प्रहरीले डोजर चालक बोहरामाथि आवश्यक अनुसन्धान गरिरहेको बताउँदै चन्दले भन्नुभयो– ‘जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ। बोहरालाई लागेको आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुन्छ।’दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो।

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको थियो। जोशीलाई डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते हुनुभएको छ। उहाँको अहिले कोहलपुरमा उपचार भइरहेको छ। उक्त झडपमा ढुंगा हानाहान हुँदा दुवै पक्षका सातजना समान्य घाइते भएका थिए। उनीहरू उपचारपछि घर फर्किसकेका छन्।

पार्ससम्म जोड्ने सडक चिलाउने भन्ने ठाउँमा पुग्दा जमिनावालाहरूले केही दिनभित्रै सबैसँग सहमति गरेर सडक अगाडि बढाउन आग्रह गरेको भए पनि निर्माण पक्षले जबरजस्ती गरी सडक निर्माण गर्न खोजेको स्थानीय हंशराज जोशीले जानकारी दिनुभयो। तर निर्माण पक्षका दिनेश जोशीले भने आफूहरूले सडक निर्माण गर्ने सहमति गरेको र अर्को पक्षले एक्कासी ढुंगामुढा गर्दा झडप भएको बताउनुभयो।

विवाद भएको स्थान गुठीको जमिन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो। तिहारपछि विवाद समाधान गरी सडक काट्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो।

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकोले गाउँलेहरू दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ। स्थानीयको ढुंगामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ।

ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरूले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासी झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्