खाद्य वस्तुको नमुना प्रयोगशालामा



नेपाल समाचारपत्र, बैतडी।

बैतडीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य वस्तुका ३८ ओटा नमुना संकलन गरेर धनगढी पठाएको छ। खाद्यवस्तु गुणस्तरीय भए नभएको जानकारी लिनका लागि खाद्य वस्तुका नमुना संकलन गरेर धनगढी पठाएको हो।

सदरमुकामस्थित गोठलापानी बजारका विभिन्न होटेल, मिठाइ पसल, किराना पसलबाट खाद्य वस्तुको नमुना संकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताउनुभयो।

खाद्य ऐनमा खाद्य निरीक्षकले खाद्य वस्तुहरूको नमुना संकलन गरेर प्रयोगशाला जाँच गर्न पाउने अधिकार भएकाले सोहीअनुसार खाद्यवस्तुको नमुना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको हो। मिठाई, चाउचाउ, पेयपदार्थ, तेल, दाललगायतका खाद्य वस्तुको नमुना संकलन गरिएको लेखकले बताउनुभयो।

खाद्य वस्तु परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभएमा कानुनअनुुसार कारबाही हुने लेखकले बताउनुभयो। उहाँले भन्नुभयो, ‘खाद्य ऐनमा न्यून गुणस्तर र दूषित वस्तुको बिक्रीवितरण गरेको पाइएमा ५० हजार जरीवाना, ५ वर्ष जेल सँजाय वा दुवै सँजाय हुने व्यवस्था रहेको छ।’

यस्तै खाद्य वस्तुमा सामान्य कैफियत देखिएमा १० हजार जरीवाना गरिने र यो जरीवाना जिल्ला प्रशासन कार्यालयले गराउन सक्ने प्रावधान रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई एक वर्षभित्र खाद्यका १ सय २० ओटा नमुना संकलनको लक्ष्य दिइएको र चालू आर्थिक वर्षमा पहिलो पटक ३८ ओटा खाद्य वस्तुको नमुना संकलन गरिएको हो। संकलन गरिएका नमुनाको प्रयोगशालामा परीक्षण गरी एक महिनाभित्रमै प्रतिवेदन आउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्