दार्चुलामा तीन हजार प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक



दार्चुला, (नेस)।प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजाले दार्चुला जिल्लामा कुल ३ हजार ४ सय १३ प्रतिष्ठान रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ। तथ्यांक कार्यालय दार्चुलाद्वारा आयोजित राष्ट्रिय आर्थिक गणना २०७५ नतिजा सार्वजनिक गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

तथ्यांक कार्यालय दार्चुलाले २०७५ वैशाख १ गतेदेखि जेठ मसान्तसम्म गरेको गणनामा ती प्रतिष्ठानमा १० हजार ८ सय ३७ जनशक्ति कार्यरत रहेको नतिजाले देखाएको छ। यसमध्ये ७ हजार ३ सय ५४ पुरुष र ३ हजार ४ सय ८३ महिला जनशक्ति संलग्न रहेको गणनाको तथ्यांकले देखाएको छ।

दर्ता भएका व्यावसायिक प्रतिष्ठानलाई मात्रै गणना गर्दा सो संख्यामा जनशक्ति संलग्न रहेको पाइएको हो। जिल्लामा १ हजार ४ सय ६१ वटा प्रतिष्ठान दर्ता नभएको पाइएको छ, भने १ हजार ९ सय ५२ वटा प्रतिष्ठान मात्रै दर्ता भएको तथ्यांक छ।

प्रतिशतका हिसाबले जिल्लामा दर्ता नभएका प्रतिष्ठान ४२ दशमलव ८ प्रतिशत तथा दर्ता भएका प्रतिष्ठान ५७ दशमलव २ प्रतिशत रहेका छन्। आर्थिक गणनाको नतिजामा जिल्लाका नौवटै स्थानीय तहका प्रतिष्ठान र संलग्न जनशक्तिको संख्या समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्