सवा ६ लाखका चाँदीका गहनासहित पक्राउ



हेटौंडा, (नेस) ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदीजस्तो देखिने सेतो धातुबाट बनेको तयारी गरगहना बरामद गरेको छ । आइतबार बेलुका करिब ६ बजे जिल्ला प्रहरी कार्यालयमातहत उक्त कार्यालयले चाँदी बरामद गरेको हो ।

भन्सार छली ल्याइएको पाउजु ७ सय १६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला, चम्चा ६५ तोला, थाली, आशन र बाँसुरी १ सय १८ तोला, चाबी रिङ १ सय २२ तोला, सिन्दुर दानी ५४ तोला, मूर्ति १ सय ९१ तोला गरी १ हजार ४ सय १५ तोला चाँदी बरामद गरेको हो ।

करिब छ लाख बीस हजार पाँच सय मूल्य बराबरका चाँदीका गरगहनाहरु फेला परेकोले भारतको मोतीहारी आदपुर, हरपुर–५ बस्ने वर्ष १८ का राकेशकुमार सुनारलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्ज पठाइएको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रहरी नायब निरीक्षक जयबहादुर प्रधानको कमाण्डमा आवश्यक मद्धतसहित खटिएको टोलीले हेटांैडा–२, देवीपथस्थित सडकमा त्रिभुवन पथबाट संगमचोकतर्फ आउँदै गरेको ना. १४ प २८३६ नम्बर मोटरसाइकल चेक गरेको हो । दीपावलीको बेला बिक्री गर्ने उद्धेश्यले ती सामान ल्याइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्