मुस्कानमाथि एसिड प्रहार गर्नेलाई बालसुधार गृहमा राख्न आदेश



कृष्णउदास खनाल, वीरगन्ज।जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएसँगै आफूहरूमाथि अन्याय भएको पीडित परिवारका सदस्यहरूले बताएका छन्।जिल्ला न्यायाधीश प्रकाश खरेलको इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए।जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण संकलन गरी उमेरको हकमा माजिद मियाँलाई १९ वर्ष र सम्साद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ।

नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्टअनुसार सम्साद आलमको उमेर १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष तोकिएको छ।
घरपरिवारले अदालतमा पेस गरेको जन्मदर्ताअनुसार माजिदको २०६२ वैशाख १ गते र सम्सादको २०६४ सालमा जन्म भएको थियो।यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलको आदेशले सबुत प्रमाणले दोषी भेटिए पनि उमेर यकिन नहुँदा बालबालिका संरक्षण ऐन–२०७५ अनुसार दुवै जनालाई सुधारगृहमा पठाएको स्रेस्तेदार अधिकारीले बताउनुभयो।

प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानुनले आधार मानेकोले सोहीअनुरूप दुवै जना नाबालिग देखिएकाले बाल सुधारगृहमा पठाएको स्रेस्तेदार अधिकारीले बताउनुभयो।

स्रेस्तेदार अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने तर बाल सुधारगृह पठाइएको जानकारी दिनुभएको हो। प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरूप पारेको मुद्दा दर्ता गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार सम्सादमाथि ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना तथा माजिदमाथि १० वर्ष कैद र १ लाख जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्