१ सय २२ किलो गाँजा घरबाटै बरामद



नेपाल समाचारपत्र, हेटौंडा।३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटांैडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमान्डमा खटेको टोली संयुक्त टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित ३३ वर्षीय प्रकाश मोक्तानको घरबाट ६ वटा बोरामा लुकाइराखेको १ सय २२ किलो १ सय ग्राम लागूऔषध (गाँजा) बरामद गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित प्रकाश मोक्तानले आफ्नो घरमा गाँजा लुकाइराखेको सूचना प्रहरीले पाएपछि गत शुक्रबार बिहान करिब ४ बजे खटिएको प्रहरीको संयुक्त गस्तीटोलीले चेकजाँच गर्ने क्रममा उनको घरबाट उक्त परिमाणको गाँजा फेला पारेको हो।

उनलाई गाँजासहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ। उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मोक्तानलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्