२३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै



नेपाल समाचारपत्र, बैतडी। बैतडीमा २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ। ५ वर्षमुनिका २३ हजार बढी बालबालिकालाई अगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

बैतडी जिल्लाभरिका ६ महिनादेखि ५ वर्षमुनिका २३ हजार ९ सय ७० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले जानकारी दिनुभयो। भिटामिन ‘ए’ कार्यक्रमलाई सहजीकरण गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको उहाँले बताउनुभयो।

उक्त कार्यक्रमका लागि जिल्लाभरि ८ सय ३१ महिला स्वयंसेविका परिचालन गरिने भएको छ। महिला स्वयंसेविकाले कात्तिक २ गते प्रत्येक स्थानीय तहका वडा र टोलमा तोकिएका केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने र छुटेका बालबालिकालाई कात्तिक ३ गते घरमै गएर खुवाउने जनाएको छ।

बच्चाको पेटमा जुका परेपछि रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले रतन्धो भई आँखा नदेख्ने हुने भएकाले उक्त रोगबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागेको हो।

नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविकासँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउन स्वास्थ्य कार्यालय बैतडीले सर्वसाधारणमा अनुरोध गरेको छ। सरकारले हरेक ६–६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्