बार्षिक १६ लाख लिटर दुध संकलन



मोतीराम तिमल्सिना, काभ्रे ।

सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बार्षिक १५ लाख ९९ हजार लिटर दुग्ध सकंलन गरी विक्री गरेको छ । ८ सय १७ शेयर सदस्य मध्ये २७ हजार ९३ लिटर दुग्ध विक्री गरी उत्कृष्ट कृषकका रुपमा जगन्नाथ ढुंगाना नगद सहित सम्मानित भएका छन् ।

धुलिखेल नगरपालिका उपप्रमुख एवं कार्यवाहक प्रमुख विमला शर्मा चौलागाईले उत्कृष्ट कृषक, जेष्ठ नागरिक, कर्मचारी र एसईई उतिर्णलाई सम्मान गर्नु भएको थियो । सहकारीले हरेक दिन विहान र बेलुका दुग्ध संकलन गर्दै आएको छ ।

पुश विमा मार्फत पशु क्षतिको क्षति उपलब्ध गराउन सक्षम भएको बताउँदै अध्यक्ष चर्तुभुज तिमल्सिनाले कृषकलाई पशु आहार तथा रसायनिक मल उपलब्ध गराएको जानकारी दिनु भयो ।

सहकारी शिक्षा शिविर संचालन, पशु खोप र कृत्रिम गर्भाधान तथा विमा कार्यालाई संस्थाले निरन्तरता दिएको उपाध्यक्ष निरन्ञ्जन गेलालले जानकारी दिनुभयो । स्वच्छ दुग्ध पदार्थ उत्पादन तथा उचित मुल्य प्राप्तीका लागि संस्थाले आगामी दिनमा नयाँ कार्यक्रम गर्न योजना बनाएको अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।

पशुपालक कृषकलाई ब्यवसायिक पशुपालन तर्फ आर्कषित गराउने, ब्यवसायीक रुपमा पशुपालन गर्न चाहेमा कृषक सदस्यले पाउने ऋणको ब्याजमा १ प्रतिशत छुट दिने, संस्था आफै वा विभिन्न संघ संस्थासँगको सहकार्य गरी उद्योगमा दुग्ध पदार्थ उत्पादन तथा विक्री वितरण गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने लगायतका योजना रहेको उपाध्यक्ष गेलालले जानकारी दिनुभयो ।

राष्ट्रिय, क्षेत्रिय र स्थानीय स्तरबाट पटक पटक सम्मानित भई पुरस्कार प्राप्त गरेको सहकारीले ७ करोड ३९ लाख ६९ हजार ३ सय ९ को दुग्ध खरिद गरी ७ करोड ५५ लाख ८९ हजार २ सय ३४ को दुध विक्री गरेको छ । पशु आहार खरिद, रसायनिक मल खरिद गरी कृषकहरुलाई सहुलियत प्रदान गरेको सहकारीले १० करोड ३५ लाख २० हजार आम्दानी गरी १० लाख ९३ हजार रुपैया मुनाफा गरेको छ ।

१ करोड ३१ लाख ६९ हजार ९ सय शेयर पुँजी रहेको छ । सचिव सुनिता सापकोटा, कोषाध्यक्ष ध्रुर्वप्रसाद चौलागाई, लेखा समिति संयोजक कृष्णबहादुर ढुंङ्गानाले सहकारीले गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला शर्मा चौलागाईले स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रमा ब्यवासायिक लगानीका लागि कार्यक्रम शुरु गरेको बताउनु भयो ।

गुणस्तरीय दुग्ध उत्पादनसँगै तरकारी र अन्य कृषि बालीहरु सुधारसँगै आत्मनिर्भर र ब्यवसायीक बनाउन पहल गर्ने उपप्रमुख चौलागाईले बताउनु भयो ।

कार्यक्रममा जिल्ला भेटेरेनिरी कार्यालयका प्रमुख डा. मगोलप्रसाद शाह, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, दुग्ध विकास संस्थानका आयोजना प्रमुख राजेन्द्रप्रसाद अधिकारी, दुग्ध उत्पादक सहकारीका केन्द्रिय सचिव टिकाबल्धव सापकोटा, जिल्ला अध्यक्ष नारायण बडाल, सल्लाहकारहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुले सेतिदेवी सहकारीका उपलब्धीहरुका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्