ढुंखर्कमा यसरी गरियो जमरा विर्सजन



नेपाल समाचारपत्र, काभ्रे। तिमल्सिना समाज ढुंखर्कले विजया दशमी २०७६ को टीका ग्रहण तथा जमरा विर्सजन कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ। ज्येष्ठ सदस्यद्वारा टीका ग्रहण गरेलगत्तै जमरा विर्सजन गरिएको थियो।

बेथान्चोक गाउँपालिकाका ज्येष्ठ सदस्य इन्द्रबहादुर तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिमल्सिना समाजका केन्द्रीय अध्यक्ष नवराज तिमल्सिना, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिना, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्वकेन्द्रीय अध्यक्ष शान्तिकुमार तिमल्सिना, प्रदेश अध्यक्ष चन्द्रमणि तिमल्सिना, जिल्ला अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, जिल्लाका पदाधिकारीको सहभागिता रहेको थियो।

रामहरि तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल मिडिया इन्स्टिच्युटका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले स्वागत गर्नुभएको थियो। कार्यक्रमका वक्ताले तिमल्सिनाको वंशको संरक्षण गर्दै भावी पुस्ताले सामाजिक अभियानमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए।

हरेक वर्ष कोजागत पूर्णिमाका दिन आयोजना गरिने उक्त कार्यक्रम ढुंखर्कको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रमा आलोपालो गर्ने गरिएको छ। तल्लो गाउँमा जमरा राख्ने समयमा माख्लो गाउँमा विर्सजन गर्ने र माख्लो गाउँमा जमरा राख्ने समयमा तल्लो गाउँमा विर्सजन गर्ने गरिएको छ।

तिमल्सिना जम्मा भएर ज्येष्ठ सदस्यको हातबाट टीका र आर्शीवाद लिने चलन तिमल्सिना समाज गठन भएदेखि शुरू गरिएको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्