दशैं सकियो: पहाडबाट तराई झर्नेको लर्को, शहरबाट गाउँ फर्किनेको ताँती



नेपाल समाचारपत्र, बैतडी।बडादशैं सकिएसँगै सुदूरपश्चिम पहाडबाट तराई झर्नेको संख्या बढ्दै गएको छ। आजभोलि तराई जाने सवारी साधनमा यात्रुको भीड बढेको प्रहरीले जनाएको छ। दशैंका लागि पुख्र्यौली थलो पहाडी जिल्लामा पुगेकाहरू तराई झर्ने क्रम शुरू भएको हो।

गाउँमा बस्दा दूध र घिउ खाँदै सबैसँग रमाइलो गर्न पाइए पनि आफ्नो दैनिकी धान्ने व्यापार, व्यवसाय वा पेसालाई निरन्तरता दिनकै लागि शहर फर्किनै पर्ने बाध्यता छ। गाउँमा रोजगारी र आम्दानीका अवसर नभएका कारण गाउँ छोड्नेहरू धेरै छन्।

बैतडीबाट तराईका लागि छुट्ने सवारी साधनमा यात्रुको भीड बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट सार्वजनिक सवारी साधनमा दैनिक ३ सयभन्दा बढी मानिस तराईतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो। यस्तै धेरै मानिस निजी सवारी साधन प्रयोग गरेर पनि पहाडबाट तराई जाने गरेका छन्।

बैतडीबाट तराई छुट्ने सबै सवारी साधनमा यात्रुको चाप बढेको प्रहरीले जनाएको छ। यस्तै दार्चुलाबाट तराईका लागि छुट्ने सवारी साधनमा यात्रुको चाप बढेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। दशैंको मुख्य दिन सकिएसँगै तराई जाने यात्रुको संख्या बढेको छ।

यस्तै बझाङबाट तराई जाने सवारी साधनमा पनि यात्रुको चाप बढेको प्रहरी चौकी खोड्पेले जनाएको छ। बझाङबाट तराईका लागि छुट्ने सबै गाडीमा यात्रुको चाप बढेको खोड्पे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिनुभयो।

दशैंमा सामूहिक जमरा र टिका हुने भएकोले स्थानीय बासिन्दा पुख्र्यौली घर आउने गरेका छन्। यसका साथै वडादशैंको नवरात्रिमा पूजापाठका लागि पनि तराई बस्दै आएका यहाँका नागरिक पहाड आउने गरेका छन्।

यसैगरी पर्वतस्थित नेपाल समाचारपत्र संवाददाताकाअनुसार दशैंमा गाउँघर पुगेका कोजाग्रत पूर्णिमासँगै शहर झर्न थालेपछि पर्वतका गाउँघर सुनसान बन्न थालेका छन्।

दशैं मान्नका लागि गाउँमा रहेका आफ्नो जन्मघर तथा पुख्र्यौली घरमा पुगेकाहरू फर्कन थालेपछि गाउँघर सुनसान भएका हुन। शहर फर्कनेका कारण यातायात तथा बजार क्षेत्र भने भरिभराउ हुन थालेका छन्।

गाउँमा बस्दा दूध र घीउ खाँदै सबैसँग रमाइलो गर्न पाइए पनि आफ्नो दैनिकी धान्ने व्यापार, व्यवसाय वा पेसालाई निरन्तरता दिनकै लागि शहर फर्किनै पर्ने बाध्यता छ। गाउँमा रोजगारी र आम्दानीका अवसर नभएका कारण गाउँ छोड्नेहरू धेरै छन्।

दशैं मनाउनकै लागि पर्वतको बिहादीमा रहेको आफ्ना पुख्र्यौली घरमा पुगेका यमलाल पुरी पनि अब बजार फर्किनुभएको छ। ‘सदरमुकाम कुस्मामा किराना पसल राखेको छु।

परिवारको जीवन धान्ने त्यही एक पसल छ। अब त गाउँ छोडेर बजार आउनै पर्यो’, यमलालले भन्नुभयो– ‘गाउँमा बसेर गाई भैंसीको ताजा दूध र दही खाने रहर त हुन्छ।

बा–आमा र परिवारसँग रहने पनि मन छ तर बाध्यता हो, घर बसेर खान पुग्दैन। आमाको आशीर्वाद थाप्न गाउँमा आइयो। दशैं सकियो, अब शहर फर्किने हो।’

शिक्षा, रोजगारी, सुविधालगायतका कारणले बजारमा बस्दै आएकाहरू वडादशैं मान्नकै लागि गाउँ जाँदा नवदुर्गाको अष्टमीको दिनदेखि बजार पूर्णरूपमा सुनसान बनेको थियो। बजारका सबै सटरबन्द थिए भने मान्छेको आउजाउ पनि शून्यमा झरेको थियो।

दशैं सकिएलगत्तै आउजाउ गर्नेहरूको भीड बढेको र बजार पुरानै लयमा फर्किएको ब्यापारी सञ्जय नेपालीले बताउनुभयो। पर्वतको फलेबास नगरपालिका स्थित ठानामौलाकी ६३ वर्षीया कलावती पौडेललाई दशैं गएपछि रमाइलो र खुसी पनि सँगसँगै गएको जस्तो लागेको छ।

दशैं मनाउनकै लागि शहरमा बस्दै आएका छोराछोरी, आफन्त, इष्टमित्र गाउँमा गएको भए पनि दशैंलगत्तै उनीहरू गन्तव्यमा फर्किएका छन्। त्यसैले कलावतीलाई दशैं गएपछि गाउँमा एक्लै बस्दा नरमाइलो लाग्न थालेको छ।

‘दशैं मनाउन छोराछोरी, बुहारी, नाति नातिना सबै घरमा आए, घरै उज्यालो भएको थियो। कति रमाइलो थियो,’ कलावती भन्नुहुन्छ,– ‘दशैं गयो, उनीहरू पनि गए। मेरो त घरै सुनसान भयो। अब तिहारमा के गर्छन् कुन्नि।’

सदरमुकाम कुश्मामा झोला उद्योगको साथै सो–रुम पनि सञ्चालन गर्दै आएकी कलावतीले टीकाको दिनसम्म सुनसान रहेको बजार एकादशीकै दिनबाट पुरानै लयमा फर्किन थालेको जानकारी दिनुभयो।

दशैंमा बजारबाट घर फर्किनेहरूका कारण भरिभराउ भएका सवारी साधन अहिले गाउँबाट शहर फर्किने मानिसका कारण भरिभराउ भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्