एसिड आक्रमण प्रकरण:विन्दवासिनीको उपचारमा न सरकारी सहयोग भयो, न अभियुक्त पक्राउ परे



नेपाल समाचारपत्र, हेटौंडा।नेपाल सरकारले एसिड (तेजाव) आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिरहँदा हेटौंडाकी एक पीडित भने लामो समयदेखि निजी खर्चमा उपचार गराउन बाध्य भएकी छन्।

नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले एसिड आक्रमणबाट घाइते भएका उनीहरूलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही ३ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

नेपाल सरकारले एसिड आक्रमणमा परेकी काठमाडौं कालो पुलकी खड्का र वीरगञ्जकी खातुनलाई आर्थिक सहयोग गर्ने भएको हो।

पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकले उक्त निर्णय गरेको बताउनुभएको हो तर हेटौंडाकी एक महिला भने आफ्नै परिवारले गर्दै आएको खर्चले उपचार गराउँदै आएकी छन्।

२०७० वैशाख ९ गते बिहान करिब ११ बजे हेटौंडा–३ मा रहेको भाँडा पसलमा २२ वर्षकी विन्दवासिनी कंशाकारलाई पसलभित्र बसिरहेको अवस्थामा तेजाव प्रहार भएको थियो।घटनापछि युवतीको स्वास्थ्योपचारका लागि परिवारले हालसम्म करिब ७० लाख बढी खर्च गरिसकेको छ।

उनको काठमाडौंमा दुई पटक प्लास्टिक सर्जरी र त्यसपछि भारतको तामिलनाडुमा हरेक तीन महिनामा कस्मेटिक सर्जरी गरिँदै आएको छ।

करिब २७ वर्षका राज केशरी उनको अनुहारमा तेजाव फ्याँकेर फरार भएका थिए। करिब ६ वर्षसम्म पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

पीडकलाई खोज्न प्रहरी भारतसम्म पुग्यो तर पत्ता लागेन्। हालसम्म पनि केशरीको खोजीमा आफूहरू जुटिरहेको प्रहरीले दाबी गरेको छ।

नम्बर नखुलेको पल्सर मोटरसाइकल पछाडि बसेर आएका केशरीविरुद्ध तत्काल प्रहरीमा उजुरी गरिए पनि प्रहरीले अघिल्लो चौकीसँग समन्वय नगर्दा उनी सोही दिन रक्सौल नाका हुँदै भारत फरार भएको परिवारको दाबी छ।

युवतीले आफ्नो घटनामा पहिचान भइसकेका अपराधी केशरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो।

आफूले सम्मान गरेर ‘दाइ’ भनी सम्बोधन गर्ने गरेको व्यक्तिबाट नै जीवन बर्बाद हुनेगरी तेजाव आक्रमण हुन्छ भन्ने आफूले सोच्दै नसोचेको उहाँले बताउनुभयो।

तेजाव आक्रमणपछि आफूले आँखा कम देख्न थालेको र विशेष प्रकारको उपचार घरमै गर्न आफू बाध्य भएको उहाँले गुनासो गर्नुभयो। आक्रमणपछि उहाँको पढाइ लामो समय बन्द भयो।

परिवार र शुभचिन्तकले धेरै सम्झाएपछि मात्र उहाँले आफ्नो पढाइलाई निरन्तरता दिएकी बुबा मधु कंशाकारले बताउनुभयो। ‘अस्पतालले ९९ प्रतिशत ठिक गराउँछु भनेको छ,’ उहाँले भन्नुभयो– ‘प्रहरी प्रशासनले यस घटनालाई बेवास्ता गरेकोमा भने हामी दुःखी छौं।’

प्रतिक्रिया दिनुहोस्