१ अर्ब १३ करोडमा प्रहरीलाई ४८ भवन



नेपाल समाचारपत्र, हेटौंडा।प्रहरी स्थानीय व्यक्तिको घरमा मासिक भाडा तिर्दै बस्न बाध्य छन्। भाडा तिरेर स्थानीयको घरमा वा टेन्टमा गुजारा चलाइरहेको छ प्रहरी।

प्रहरी कार्यालय कसैको निजी घरमा भाडा तिरेर कुनै सार्वजनिक जग्गामा बनाइएका भवन वा कुनै स्थानीयले बनाइदिएका घरमा गुजारा चलाइरहेका छन्।

शान्तिसुरक्षा दिने प्रहरीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या परेको छ। आफ्नै भवन नहँुदा जनताको सुरक्षा गर्ने प्रहरी भाडाका घरमा बसेर काम गर्न बाध्य भएका हुन्। यसरी भाडाको घरमा बसेका प्रहरी कार्यालय सुरक्षित छैनन्। कतिपय घरहरू जीर्ण छन्।

सशस्त्र द्वन्द्वमा ७ सय ३८ वटा प्रहरी भवन क्षतिग्रस्त भएको थियो। भूकम्पले एक सय ९६ वटा भवन भत्कियो। प्रदेशका दुर्गम जिल्लामा प्रहरी भवन छैनन्।

बस्ती नजिक एकाइ राख्दा भाडाका घर नै खोजिएको छ। भाडामा लिएको कार्यालयमा कता थुनुवाकक्ष राख्ने, महिला प्रहरीका लागि ब्यारेक कसरी छुट्याउने, मेस व्यवस्थापन कसरी गर्ने भन्ने विषय जटिल बन्दै आएको छ।

आफ्नै कार्यालय भवनसमेत नहुँदा दैनिक १८ घण्टा ड्युटी गर्ने प्रहरी कमजोर मानसिकताले काम गर्न बाध्य छन्। गर्मीमा लामखुट्टेको टोकाइको पीडा त जाडोमा थर्थर काँप्नु पर्दाको पीडा अब केही हलुका हुने विश्वास छ।

लामो समयदेखि प्रहरीले सहेको दुःख अनि उनीहरूकै सुरक्षा चिन्ता आदि विषयलाई गम्भीरतापूर्वक लिँदै प्रदेश–३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १० जिल्लामा उल्लेख्य संख्यामा प्रहरीचौकी भवन निर्माण गर्ने भएको छ।

प्रदेश मन्त्रालयले १ अर्ब १३ करोड रुपियाँको लागतमा प्रहरीका लागि ४८ वटा भवन निर्माण गर्न लागेको हो। सोही क्रममा निर्माणाधीन भवनको मंगलबार अनुगमन गरिएको छ। प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलसहितले अनुगमन गर्नुभएको हो।

प्रदेश सरकारको आर्थिक अनुदानमा निर्मित प्रदेशका प्रहरी चौकीका निर्माणाधीन भवनमध्ये मकवानपुरका भवन अनुगमन गर्दै प्रदेशका आन्तरिक मामिला मन्त्री जम्कट्टेलले कतिपय ठेकेदारका कारण काम अवरुद्ध हुने गरेको बताउँदै तोकिएको समय सीमाभित्र कुनै हालतमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो।

मन्त्री जम्कट्टेलले टहरोमा बसेर नागरिकको सेवा गर्ने प्रहरी कर्मचारीको दुःख देखेर प्रदेश सरकारले प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको रकम रोक्का गर्ने तथा आगामी योजनामा सहभागी नगराइने चेतावनी दिनुभयो।

प्रदेश प्रहरी कार्यालय अन्तर्गत प्रहरी कार्यालयका लागि मकवानपुरमा ७ वटा, चितवनमा ५ वटा, सिन्धुलीमा ६ वटा, धादिङमा ३ वटा, नुवाकोटमा ३ वटा, दोलखामा ४ वटा, रामेछापमा ५ वटा, काभ्रेमा ६ वटा, रसुवामा ४ वटा र सिन्धुपाल्चोकमा ३ वटा प्रहरी चौकी निर्माण हुनेछन्।

मन्त्री जम्कट्टेलले मकवानपुरको बकैया, हात्तीसँुडेस्थित २ करोड ५ लाख लगानीमा निर्माणाधीन प्रहरी चौकी भवन, हेटौंडा–१५ स्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको ४ करोड ३९ लाख लागतमा निर्माणाधीन महिला तथा पुरुष प्रहरी ब्यारेक, ३ करोड ४६ लाखको लागतमा निर्माणाधीन हेटौंडा–११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र भीमफेदी कारागारमा ४० लाखको लगानीमा निर्माणाधीन महिला बन्दीगृह अनुगमन गर्नुभयो।

अनुगमन पश्चात उहाँले काम गराई सन्तोषजनक नभएको भन्दै प्रदेश सरकारको गतिअनुसार काम गर्न निर्माण कम्पनी, सरकारी इञ्जिनियर तथा प्रहरी चौकी भवन निर्माणको जिम्मा लिएका प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

‘प्रदेश सरकार जतिसक्दो चाँडै काम सम्पन्न गर्न चाहन्छ, सरकारको उद्देश्यअनुसार काम सक्न मेरो अनुरोध छ’ –उहाँले भन्नुभयो। वर्षौंदेखिको प्रहरीको पीडामा मल्हम लगाउन भवन निर्माण गर्न लागिएको उहाँको भनाइ छ।

अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरेकोले सोहीअनुसार कार्य सम्पादन गरिने बताउँदा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले प्रदेश सरकारले पानी चुहिने घरमा बसेर सेवा गर्ने प्रहरीलाई भवन बनाइदिन लागेकोले बेलैमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो।

प्रदेशका प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले प्रदेश सरकारले प्रदेशभर ४८ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण प्रारम्भ गरेर प्रहरीको आत्मबल वृद्धि गरेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मुकेशकुमार सिंहले भवन निर्माणपछि प्रहरीलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्