नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संगठन ः नेका सचेतक खाँण



यमलाल भुसाल, बुटवल। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संगठन भएको आरोप लगाउनुभएको छ।

नेपाली कांग्रेस रुपन्देही प्रदेश निर्वाचन क्षेत्र २ (क) ले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा सहयोग गर्नेलाई सम्मानका लागि रुपन्देहीको ड्राईभर टोलमा बुधबार आयोजना गरिएको कार्यक्रममा नेता खाँणले नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भातृ संस्थाको रूपमा सञ्चालन हुनेगरी सम्झौता भएको दाबी गर्दै नेपालमा कम्युनिस्ट निरंकुशता ल्याउन खोजिएको जिकिर गर्नुभयो।

सरकारले संवैधानिक व्यवस्थाअनुसारका स्वतन्त्र निकायलाई कमजोर बनाउने गरी विधेयक ल्याएको बताउँदै खाँणले त्यस्तो संविधान प्रतिकुल देखिएका विधेयक पास हुन नदिने पस्ट पार्नुभयो।

कम्युनिस्ट शासनमा नागरिक स्वतन्त्रता हनन् हुने भएकाले नेकपाको निरंकुशता नेपाली जनतालाई स्वीकार्य नहुने उहाँले बताउनुभयो।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका नेता खाँणले दुई देशका कम्युनिस्ट पार्टीको सम्झौताले मुलुकको कुटनीतिक क्षेत्र, राष्ट्र र राष्ट्रियतालाई गम्भीर असर गर्ने भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभयो।

नेपालको सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार मात्रै छ बुँदे सम्झौता भएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख सचेतक खाँणले जननिर्वाचित प्रतिनिधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई नभएको बताउँदै संवैधानिक दायरामा बसेर आफ्ना स्वर्गीय पति मदन भण्डारीको हत्याराको खोजी गर्न सुझाव दिनुभयो।

‘जननिर्वाचित प्रतिनिधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई छैन।’ प्रमुख सचेतक खाँणले भन्नुभयो– ‘आफ्ना पति स्वर्गीय मदन भण्डारीको हत्यारा पत्ता लगाउनुहोस्, त्यसो भयो भने तपाईं पतिको आत्माले पनि शान्ति पाउने छ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि पुनः कांग्रेस जाग्नु पर्ने बेला आएकोले पार्टीभित्रका मतान्तर र तिक्ततालाई बिर्सेर सरकारका गलत कामको बिरुद्धमा एकजुट हुन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँले नेपाली कांग्रेस कमजोर हुँदा कांग्रेसका नेता कार्यकर्ता मात्रै कमजोर नभएर राष्ट्र, राष्ट्रियता र लोकतन्त्र पनि कमजोर हुने र अप्रजातान्त्रिक शक्तिले टाउको उठाउने भएकाले मुलुकको विकास र समृद्धिको लागि पार्टीलाई सबल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्