‘बालविवाह उन्मूलन गरौं, घरेलु हिंसाको अन्त्य गरौं’



नेपाल समाचारपत्र,कालिकोट। सामाजमा विकृतिको रूपमा रहेको घरेलु हिंसा, बालबालिका विरुद्ध हुने हिंसा, बालविवाह, छाउपडी प्रथा, जातीय छुवाछूतलगायतका विकृतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान सञ्चालन गरेको छ।

बालविवाह उन्मूलन गरौं, घरेलु हिंसाको अन्त्य गरांै, जातीय विभेद तथा छाउपडी प्रथाको अन्त्य गरौंलगायतका नाराका साथ बुधबार कालिकोट प्रहरीले सामाजिक विकृति विरुद्ध जिल्लाव्यापी अभियानको शुरुआत गरेको हो।

कालिकोट प्रहरी प्रमुख स्यामबाबु वलियाको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच संविधानसभा सदस्य तुलाराज विष्ट र जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अभियानको उद्घाटन गर्नुभएको हो।

हाम्रो कालिकोट, सुरक्षित कालिकोट, सामाजिक विकृतिको अन्त्य गरौं, मानव अधिकार संस्कृतिको विकास गरौंलगायतका नारालिखित प्लेकार्डसहित जिल्ला सदरमुकाम मान्ममा वृहत जनचेतनामूलक र्यालीको आयोजना गरिएको छ।

कार्यक्रममा जिल्लाका प्रहरी, प्रशासन, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको छ।

कालिकोटका प्रहरी प्रमुख वलियाले समाजिक विकृतिका विरुद्धमा वार्षिक कार्य–योजना निमार्ण गरी अभियानको शुरुआत गरिएको जानकारी गराउनुभयो।

साथै उहाँले सबै स्थानीय तह, नागरिक समाज, अधिकारकर्मी, राजनीति दलसँगको सहकार्य र समन्वयमा जिल्लाभरि चेतनामूलक कार्यक्रम गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्