उपभोक्ता हितका लागि बजार अनुगमनमा जोड



नेपाल समाचारपत्र, बुटवल।

प्रदेश–५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले ट्राफिक प्रहरीले स्थानीय प्रशासन, सरकार र सरोकारवाला निकायसँग मिलेर उपभोक्ताको हितमा काम गरिरहेको बताउनुभएको छ।

रिपोर्टर्स् क्लब नेपाल प्रदेश–५ ले बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहले चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गलत कामलाई रोक्ने र चेकजाँचलाई पारदर्शी बनाउने उहाँले बताउनुभयो।

सोही कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उपभोक्ताको अहितमा गलत काम गर्ने जुनसुकै व्यवसायीलाई कारबाहीका लागि उद्योग वाणिज्य संघले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो।

उपभोक्ताहित संरक्षण मञ्च रुपन्देहीका कार्यबाहक अध्यक्ष तेजकुमार पाठकले बजार अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउनु पर्ने बताउनुभयो। बजार अनुगमन नहुँदा गुणस्तरहीन सामान बिक्री गर्नेलाई सहज भएको उहाँको कथन थियो।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बजार अनुगमनमा प्रशासनले चासो नदिएको धारणा राख्नुभयो। उहाँले बजार अनुगमन नहुँदा उपभोक्ताले खाद्य अधिकार नपाएको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्