एनसेलको पीआरबीटीमा नयाँ योजना



काठमाडौं, (नेस)।एनसेलका ग्राहकले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ टोन (पीआरबीटी) को रूपमा राख्न र अरूलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन्।

साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन्।

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेव पीआरबीटी आफ्नै धुनको  नयाँ भर्सन ल्याएको हो।

यस भर्सनअन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन्।

यो योजना असोज ६ गतेबाट सञ्चालनमा आउँदैछ। प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार प्राप्त गर्नेछ।

त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार प्राप्त गर्नेछ। विजेताको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ।

धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। त्यसपश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले ३० बोनस रुपियाँ पाउनेछन्।

यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ।

प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पीआरबीटी आफ्नै धुन सेवा सुचारु गर्नुपर्छ।

त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नुपर्छ। यस पीआरबीटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ। यो योजना लागू भएको मितिबाट १२ हप्तासम्म सञ्चालनमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्