खोटाङ, (नेस)। खोटाङमा मोही ठानेर किरा मार्ने विषादी सेवन गर्दा एक किशोरी गम्भीर बिरामी परेकी छन्। घोलेर बोत्तलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनडाँडा ट्याम्टुककी अम्बिका राई सिकिस्त बिरामी परेकी हुन्।
अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादी पिउँदा गम्भीर बिरामी परेकी अम्बिकालाई उपचारका लागि काठमाडौं लगिएको आफन्त एव स्थानीय शिक्षक दिलिप राईले जानकारी दिनुभयो।
अम्बिकाले शुक्रबार विद्यालयबाट घर फर्किए लगत्तै बोत्तलमा राखेको विषादी झुक्किएर सेवन गरेकी थिइन्। हाल ओम अस्पताल काठमाडौंमा आइसीयूमा राखेर उनको उपचार भइरहेको बाबु क्षेत्रबहादुर राईले बतउनुभयो।
अम्बिका स्थानीय मालिकादेवी माविमा कक्षा ७ मा अध्ययनरत छिन्। हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्षेत्रमा फैलिएको फौजी किरा नियन्त्रणका लागि केही समयअघि किसानलाई विषादि वितरण गरिएको थियो।