पासाङल्हामु राजमार्ग अवरुद्ध

मानसरोवर जान हेलिकोप्टरको सहारा



सरस्वति न्यौपाने, रसुवा। अन्तर्राष्ट्रिय नाका हुँदै मानसरोवर तीर्थ जाने भारतीय नागरिक पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट स्याफ्रुबेसी जान थालेका छन्।

कैलाश यात्राका लागि छोटो दुरीको रूपमा रहेको एक मात्र उत्तरी नाका रसुवागढी पुग्न राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट हेलिकप्टर मार्फत स्याफ्रुबेसी आवतजावत गर्न थालिएको ट्रेकिङ कम्पनीले बताएका छन्।

बुधबार काठमाडौंबाट रसुवागढी हुँदै मानसरोबर यात्राको लागि ५५ गैरआवासीय नेपाली बोकी हिँडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरबाट बिहीबार स्याफ्रुबेसी लगिएको टे«किङ कम्पनीले जनाएको छ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार गएको वैशाखदेखि शुक्रबारसम्म १४ हजार ५ सय जना तीर्थयात्रुले मानसरोवर कैलाश यात्रा सम्पन्न गरेका छन्। मानसरोवर कैलाश यात्राका लागि बढी मात्रामा भारतीय तीर्थयात्रु जाने गरेका छन्।

तिब्बतमा पर्ने कैलाश मानसरोवर यात्राका लागि रसुवागढी नाका प्रयोग गर्दा स्थलगतरूपमा जान सकिने भएकोले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको प्रमुख घर्तीले जानकारी दिनुभयो।

पौराणिक कथनअनुसार भगवान शिवलगायत ब्रह्म देवगण मरिचि, रावण, भस्माशुरले कैलाश मानसरोवरमा तपस्या गरेका थिए।

यो पर्वत हिन्दु, बौद्ध, जैन आदि धर्मावलम्बीको साझा तपोभुमी भएका कारण पवित्र धार्मिक स्थलका रूपमा मानसरोवर कैलाश यात्रा शुरू भएको हो। यस पर्वतको उचाइ ६ हजार ७ सय १४ मिटर र परिधि ४३ किमि रहेको छ।

प्रतिक्रिया दिनुहोस्