विशाललाई राष्ट्रिय शिखर कृषक अवार्ड



भद्रपुर, (नेस)।झापाका एक कृषक राष्ट्रिय शिखर कृषक अवार्ड –२०७६ बाट पुरस्कृत हुनुभएको छ। प्रदेशका उत्कृष्ट ७ कृषकहरूसँगै १ नम्बरबाट झापा विर्तामोड १० फेसबुक चोकस्थित विशाल कृषि फर्मका विशाल राई उत्कृष्ट कृषक सम्मान अवार्डबाट पुरस्कृत हुनुभएको हो।

शिखर नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा शनिबार भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रथम राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६ बाट १५ हजार रुपियाँ नगद र अवार्डसहित राईलाई सम्मान गर्नुभएको थियो। नेपालमा नै पहिलोपटक पङगास जातको माछाका भुरा उत्पादन गरी आत्मनिर्भर भएको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरेको राईले बताउनुभयो।

प्रदेश १ बाट १ सय १५ जनाको सिफारिस परेकोमा छनोट गरी ५ जनाभित्र परेको उहाँले जनाउनुभयो। त्यसपछि छनोट गर्दा उत्कृष्ट भएको उहाँले सुनाउनुभयो। योभन्दा अघि २०७४ मा पनि राष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरिसकेको उहाँको भनाइ छ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कृषिलाई पहिलो प्रथामिकतामा राखेको बताउनुभयो। उहाँले कृषिप्रधान देश भनेर आयात गर्नु दुःख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरी काम गर्ने धारणा राख्नुभएको थियो। कृषकलाई प्रोत्साहनसँगै उनीहरूको क्षमताको कदर गर्ने उद्देश्यसहित राष्ट्रिय शिखर कृषक अवार्ड –२०७६ प्रदान गरिएको अध्यक्ष शेखर खनालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्