पाँच लाखका लागि कुर्मीको हत्या



बुटवल, (नेस)।बैंकबाट रकम निकालेर घर जाँदै गर्दा रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेका ओमसतिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने समूहले उनको साथमा रहेको ५ लाख लुटेर लगेको बताइएको छ। कुर्मीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कुर्मी लु९प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए। उनको बायाँ कुममा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक उदय थापाले गोली लागेर कुर्मीकोे मृत्यु भएको पुष्टि गर्नुभयो।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्