येँया पुन्हीको रौनक



राजधानीमा मंगलबारदेखि इन्द्रजात्राको रौनक शुरू भएको छ, जसलाई इन्द्रजात्रा भनेर चिनिन्छ, त्यो खासमा ‘येँया पुन्ही’ हो। इन्द्रजात्रा शब्दले ‘येँया पुन्ही’लाई पूर्णरूपमा न्याय नगर्ने सम्पदाविद्हरूको भनाइ रहेको छ।

नेपाल भाषामा ‘येँ’ भनेको काठमाडौं हो। ‘या’ भनेको उत्सव र पुन्ही’ भनेको पूर्णिमा। शब्दले नै भन्छ, यो पर्व मात्र होइन। पूर्णिमामा काठमाडौंमा हुने उत्सव हो।

कसैकसैले यसलाई आकाश भैरवको जन्मदिनका रूपमा पनि मनाउँछन्। इन्द्रजात्रा भनेर जति हामी देख्छौं वा बुझ्छौं, त्यो यो उत्सवको २० प्रतिशत मात्र हो।

पर्वमा यःसि ठड्याउने, दबू प्याखँ, लाखे प्याखँ, इन्द्रलाई बाँधेर राख्ने जस्ता उत्सव र गुठी पूजालगायत रहेका छन्। पाल्चामा बत्ती बाल्ने कार्यक्रम हुन्छ।

भजन मण्डलीको छुट्टै कार्यक्रम हुन्छ। त्यसैले, यो एउटा उत्सव मात्र होइन, थुप्रै उत्सवको संगठन हो।

कुमारीको रथ पुगेपछि कसो गर्ने, लाखे नाच कतिखेर गर्ने, रक्सी कतिखेर बगाउनेलगायत क्रियाकलापका आ–आफ्ना साइत हुन्छन्। यी पर्व यहाँको संस्कृति, मानिस र स्थानहरूसँग जोडिएका हुन्छन्।

किराँत, लिच्छवि र मल्लकालदेखि नै यो संस्कृति चल्दै आएको हो। त्यसमा पनि गुठी स्थापना पाँचौं शताब्दीबाट भएको थियो। यसले पनि सम्पदा तथा संस्कृति जगेर्नामा ठूलो भूमिका खेल्छ। गुठीले सामाजिक कार्य, चाडपर्व, भजन सञ्चालन गर्छ।

गुठीकै कारण अमूर्त कला, संस्कृति एवं परम्परा जर्गेना हुँदै आएको छ। परम्परादेखि चलिआएको सम्पदा एवं संस्कृति पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि खुम्चिँदै गएको थियो।

रोम र इटालीका सडक समारोहदेखि ब्राजिलका कार्निभल र जापानका हाकाता पर्वहरू हाम्रा इन्द्रजात्रा र बिस्केट जात्रासामु फिक्का छन्। हाम्रा यी पर्वले यहाँका कलाकौशल मात्र पस्कँदैनन् त्यसभित्रका जीवन दर्शन पनि प्रतिबिम्बित गर्छन्।

येँ याको अवसरमा धेरैका मनमा कुमारी, भैरव र गणेशका रथ, आकाश भैरवको मुकुन्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रै, लाखे र पुलुकिसीका चर्तिकला, सोभा भकु र महाकाली देवीगणका नाच चित्रित हुन्छन्।

टोल–टोलका खाँबामा बाँधिएका इन्द्र र उहाँको सम्मानमा बालिएका दियो र बीचबाटोमा हाथाद्योको घ्याम्पोबाट निस्कने जाँडको मजा यस जात्राका अन्य विशेषता हुन्।

काठमाडौंका कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट गुड्ने रथ, लाखे र झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ।

प्रत्येक चोक र गल्लीका डबली र वर्षभरि ‘वास्ता नगरेर फालिएका’ देवताहरू पनि यसबेला ब्युँझेका हुन्छन्।

प्रस्तुती ः सुनिल महर्जन

मजिपाः लाखे

रातो मुखौटा लगाएको डरलाग्दो अनुहार। रातै कपाल, च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा। हातका औंलामा लामा–लामा नंग्रा। तासको कपडामा सजिएको यो पात्र ‘मजिपाः लाखे’ हो।

भनिन्छ– उपत्यकामा जति पनि देवीदेवता छन्, त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे छन्। लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा दैत्यका रूपमा व्याख्या गरिएको छ।

येँया पुन्ही ‘इन्द्रजात्रा’मा मजिपाः लाखेलाई ‘लाखे आजु’का रूपमा आस्थापूर्वक पुज्ने गरिन्छ। यो लाखे राक्षसी वर्ग भए पनि उसमा प्रेम, बलिदान र त्याग छ। त्यसैले, मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ।

किम्बदन्तीअनुसार मजिपाः टोलकी एक ज्यापुकी छोरीसँग लाखेको प्रेम बस्छ। त्यो लाखेले मानिसको रूप लिई ज्यापुकी छोरीलाई खेतको काममा सघाउन थाल्छ।

यसरी खेतको काम चाँडै सकिएको देखेर केटीका आमाबुबा आश्चर्यमा पर्छन्। पछिपछि त्यो लाखे केटीको घर मजिपाःमै आउन थाल्छ। कहिले त रातभरि नै बस्न थाल्छ।

यस्तो हुँदैजाँदा टोलभरि त्यो केटी र लाखेको प्रेम सम्बन्धका बारेमा चर्चा हुन थाल्छ। उनीहरूको प्रेमचर्चासँगै सोही समयमा सो टोलका बच्चा पनि एकाएक गरी हराउन थाल्छन्।

टोलबासी लाखेले गर्दा नै आफ्ना बच्चाहरू हराउन थालेको शंका गर्छन्। त्यसपछि उनीहरूले लाखेलाई समातेर पिट्दै केरकार गर्न थाल्छन्। लाखेले आफ्नो गल्ती स्वीकार गर्दै केटीसँग प्रेम भएको र कुनै हालतमा आफ्नी प्रेमिका छाड्न नसक्ने बताउँछ।

लाखेले टोलका बालबालिकाको रक्षा गर्ने र भूतप्रेतबाट सुरक्षा दिने वाचा गर्छ। अनि सबै टोलबासी मिलेर लाखेलाई एउटा घरमा बन्द गर्छन्। त्यही घरलाई लाखे ननी ‘लाखेघर’ भनिन्छ। इन्द्रजात्रामा मात्रै लाखेलाई बाहिर ल्याइन्छ।

येँया पुन्ही ‘इन्द्रजात्रा’मा निकालिने लाखे नाचमा ‘रञ्जित’ समुदायको विशेष भूमिका हुन्छ। भाद्र कृष्णपक्ष एकादशीमा लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दुकबाट लाखेको मुखौटा निकालिन्छ।

त्यसलाई पूजाआजा गरी रंगरोगन गर्न यट्खा टोलका चित्रकारकहाँ लगिन्छ। त्यो मुखौटालाई पूजाआजा गरी शुक्लपक्ष दशमीको दिन लाखे ननिमा फिर्ता ल्याइन्छ। त्यसको भोलिपल्ट एकादशीमा लाखेको रातो कपाल सजाइन्छ।

यो सबै पूजाविधि गोप्य हुन्छ। पूजाआजा गर्दा वा लाखेको मुखौटा निकाल्दा त्यसलाई पुजारीले समेत आँखा जुधाएर हेर्नु हुँदैन। द्वादशीका दिन इन्द्रध्वजोत्थानपछि आधिकारिकरूपमा येँया पुन्ही शुरू हुन्छ।

लाखे पनि नगर परिक्रमाका लागि तयार हुन्छ। यो दिन नाट्येश्वरको पूजा गरेर ननिचोकमा मजिपाः लाखे नाच्छ। जैसीदेवल र चिकंमुगलमा तीन–तीनपटक उफ्रन्छ। यसरी उफ्रनुको अर्थ हो– टोलमा कुनै संकट एवं महामारी नआओस्।

यसै दिन येँगलमा रहेको केबछेः चोकमा राजभण्डारीको घरबाट लाखेले पूजा लिनुपर्छ। बेलुकी ‘उपाःकु’ मरेका मान्छेको नाममा बत्ती दिने मार्गमा लाखे नाच्दै हिँड्छ।

यो मार्ग जैसीदेवल, कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगनलगायत टोल हुँदै जैसीदेवल पुग्छ। मजिपाः लाखे त्यो दिन लाखेघरमा फर्किएपछि नाच समापन हुन्छ।

साताव्यापी येँया पुन्हीमा मजिपाः लाखे नाचको प्रत्येक दिनको शुरूआत उस्तै हुन्छ। पहिले नाट्येश्वरको पूजा हुन्छ। त्यसपछि जैसीदेवल र चिकमुगलमा अनिवार्य तीन–तीनपटक उफ्रनुपर्छ। आफ्नो टोलबाट बाहिर गएपछि बीचमा फर्किन हुन्न भन्ने मान्यता छ।

अन्य दिनमा कुनै टोलरघरले बोलाउँदा लाखे पूजा लिन पुग्छ। कुमारी रथयात्रा क्रममा तल्लो टोल ‘कोहने’, भोलिपल्ट माथिल्लो टोल ‘थने’ र पछि बीचको टोल ‘नानिचा’का दिन लाखेले रथलाई बाटो देखाउँदै, भीड पन्छाउँदै अघिअघि नाच्दै हिँड्छ। त्यसपछि बोलाएको ठाउँमा पूजा लिन जान्छ।

रथ तान्ने दिनहरूका बीचमा लाखेघरमा पुलुकिसी र सवः भकू बोलाएर पूजा दिइन्छ। समयबजी खुवाएर पठाइन्छ।

पुलुकिसी सञ्चालक टोलीले भने जात्राको अन्तिम दिन मजिपाः लाखेलाई पूजा दिन्छ। सवः भकूले भने जात्रा सकिएको केही दिनपछि भोज बोलाउँछ।

जात्रा सकिएको दुई–तीन दिनपछि लाखेघरमा लाखेको पूजा गरिन्छ। लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ। झ्यालिँचाको उमेर ३ देखि १२ वर्षको हुन्छ।

गुणकामदेवको पालादेखि लाखे नाच शुरू भएको मानिन्छ। नेपाल संवत् ८०० तिरको अभिलेखमा यसको उल्लेख छ। कतिपयले भने राजा हरिसिंह देवले सिम्रौनगढबाट आफूसँगै लाखेनाच उपत्यका भित्र्याएको बताउँछन्।

सव भक्कु

भैरवलाई तत्कालीन उपत्यकाभित्रको राज्यको संरक्षकका रूपमा लिइन्छ। हल्चोकस्थित सव भक्कु ‘हल्चोक’ आकाश भैरवलाई पश्चिम दिशाबाट धेरै नै विघ्न हुने तथा राक्षसहरूले दुःख दिन थालेपछि बिघ्नहरूबाट बच्न स्थापना गरिएको थियो।

निलो अनुहार र मास्क लगाएको भैरव र सुन्तला – रातो रंगको अनुहार भएका २ सहयोगीहरूमा बाघको अनुहार भएकालाई सिम्बा द्यः र सिहंको अनुहार भएकालाई धुम्बा द्यः भनिन्छ।

इन्द्रजात्राको बेला हल्चोक भैरव र अन्य २ सहयोगीहरू सिम्बा द्यः र धुम्बा द्यः नाच्दै निस्कने गर्दछन्। सिम्बा द्यः र धुम्बा द्यःलाई चण्डी र कुमार पनि भनिन्छ।

राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हमला गर्दा उनी एकचोटी बेहोस भएका थिए। त्यतिबेला यिनै हल्चोक आकाश भैरवले सहयोग गरेर गोर्खासम्म फर्काएका थिए।

यसैको सम्झनामा नेवारमध्येकै एक जाति पुटुवारहरू आकाश भैरव, सिम्बा द्यः र धुम्बा द्यःका रूपमा सजिएर नाच देखाउने गरिन्छ। शहरका विभिन्न समुदायले आमन्त्रण गर्छन् र पूजा गर्ने गर्दछन्।

आकाश भैरव, सिम्बा द्यः र धुम्बा द्यःनाच्दा रोगव्याधी र नकारात्मक शक्तिहरू निर्मूल हुने जनविश्वास रहिआएको छ।

कसैले पनि आकाश भैरव, सिम्बा द्यः र धुम्बा द्यःबाटो काट्दा नराम्रो हुने विश्वास रहिआएको छ।

देवी नाच अर्थात् दि प्याखँ

येँ या अर्थात् इन्द्रजात्राको अवसरमा सात देवदेवी भैरव, चण्डी, कुमारी, दैत्य, कवं ‘कंकाल’, बेताः ‘बेताल’ र ख्याः ‘ख्याक’को नाच देखाइने गरिन्छ।

देवी नाचले छोरीहरूको साहसको कथा भन्छ। दैत्यमाथि कुमारीले विजय पाएको यही पौराणिक कथा छ, देवी नाचमा जसलाई नेपाल भाषामा ‘दी प्याखंः’ भनिन्छ। काठमाडौंको ठूलो पर्व येँया पुन्ही ‘इन्द्रजात्रा’को एउटा मुख्य अंग हो।

हनुमानढोका दरबार अगाडि यःसिं’ ठड्याएपछि बल्ल येँया पुन्ही शुरू भएको मानिन्छ। कुन पात्र को बन्ने भन्ने पहिल्यै तय हुन्छ। बेताल, कंकाल र ख्याक साना पात्र हुन्।

यिनको नाचमा साना केटाकेटी नै राखिन्छ। त्यही भएर नाच्नेहरू परिवर्तन भइरहन्छन्। द्वादशीको दिन हनुमानढोकामा यःसि ठड्याएर आधिकारिकरूपमा इन्द्रजात्रा शुरू भएपछि कागेश्वरीनजिकैको डबलीमा देखाइन्छ।

हाल यो डबली मासिएकाले सडकमै देखाउनुपर्छ। त्यसपछि कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल ‘न्हूघः’ डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ।

पुलुकिसि

सांस्कृतिक नगरी काठमाडौंको विभिन्न जात्रापर्वमध्ये सबैभन्दा बढी महत्वपूर्ण जात्रा हो, येँयाः अर्थात् काठमाडौंको जात्रा।

यस पर्वलाई येँद्याः, ञन्याः आदि नामबाट पनि चिनिन्छ। यस पर्वको दौरान विभिन्न ठाउँमा विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छ।

एक सातासम्म मनाइने यस पर्व नेपाल संवत्अनुसार यंलाथ्व द्वादशीदेखि यंलागाः तृतीया/चौथीसम्म मनाइने गरिन्छ। यस बखत सञ्चालन हुने विभिन्न सांस्कृतिक नाचमध्ये एक हो– पुलुकिसि नाच।

काठमाडौंको भित्री शहरलाई थःने (माथिल्लो क्षेत्र), क्वःने (तल्लो क्षेत्र) र बीचको क्षेत्र गरी तीन हिसाबले वर्गीकरण गरिएको छ। त्यसमध्ये बीचको क्षेत्रको किलाघः टोलसँग सम्बन्धित जात्रा हो, पुलिकिसि जात्रा।

इन्द्रजात्राको अवसरमा जात्रा गरिने हात्ती सेतो हात्ती हो। यसलाई पुलुकिसि÷तानाकिसि पनि भनिन्छ। यस हात्तीलाई यँमाद्यः (इन्द्र)या वाहन पनि भनिन्छ।

देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा किलागलका ‘पुलुकिसी’ पुलुकिसी नाच नचाउने गरिन्छ।

हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको मूर्तिअगाडि योसीं ठड्याएसँगै शुरू भएको इन्द्र जात्राको एक विशेष जात्रामध्ये मानिन्छ ‘पुलुकिसी’।

प्रचलित मिथकअनुसार आमालाई पारिजात फूल चाहिएकाले एक दिन इन्द्र काठमाडौंमा फूल चोर्न आएछन्। यहाँका माली समुदायले इन्द्रलाई बाँधेर राखे।

त्यसपछि इन्द्रलाई खोज्दै उहाँको ऐरावत हात्ती आएछ। सो हात्ती राम्रो देखेपछि किलाघःको महर्जन समुदायले समातेर राखेछन्। त्यसैको सम्झनामा हरेक इन्द्रजात्रामा पुलुकिसी देखाइन्छ।

हरेक वर्ष काठमाडौंको किलाघःत्वाःखलःले पुलुकिसी जात्रा निकाल्दै आएको छ। यो पुलुकिसी निकाल्दा ठूलो र सानो धिमे, भुस्या र विशेष ट्याइँट्याइँ बाजा बजाउने गरिन्छ।

र, हात्तीको मुकुट र आवरण चित्रकारहरूले कोर्ने गर्छन्। बर्सेनि इन्द्रजात्राको एकदुई महिनाअघि नै सेतो कपडामा विभिन्न बुट्टा र चित्र कोर्न पठाइन्छ।

किलाघःमा सेतो पुलुकिसी मात्रै नभई अन्य दुई रातो र कालो हात्ती पनि छन्। तर अहिले सेतो पुलुकिसी मात्रै धेरै प्रचलनमा छन्।

प्रतिक्रिया दिनुहोस्