स्थायी लेखा नम्बर लिने बढे



इलाम, (नेस)। करदाता सेवा कार्यालय इलामबाट हालसम्म ७ हजार ६ सय ६६ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। कार्यालयका प्रमुख प्रकाश राईका अनुसार कार्यालयबाट हालसम्म आयकर ८ हजार ८ सय ३८ जनाले लिएका छन्।

मूल्य अभिवृद्धि करतर्फ ६ सय ९१ फर्म दर्ता भएका छन् भने अन्तशुल्कतर्फ ७ सय ७० वटा फर्म कर कार्यालयमा दर्ता भएको छ। यस्तै संस्थागत पान नम्बर लिनेको सङख्या ३२ वटा मात्र रहेको छ। यसरी हेर्दा कार्यालय इलाममा हालसम्म १७ हजार ९ सय ९७ जना करदाता रहेको तथ्यांक छ।

पछिल्लो केही महिनायता कार्यालयमा स्थायी लेखा नम्बर लिनेको सङख्या ≈वात्तै बढेको छ। कार्यालयमा अहिले हरेकदिन व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड बढी नै रहेको कर अधिकृत प्रकाश राईको भनाइ छ।

सरकारले हरेक व्यक्तिले स्थायी लेखा नम्बर लिन अनिवार्य गराएपछि मानिसको चाप कार्यालयमा बढेको उहाँले बताउनुभयो। धेरैजसो विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्।

अबदेखि हरेक कर्मचारीको तलब पनि बैंकमार्फत हुने भएपछि व्यक्तिगत स्थायी लेखा नम्बर यसै पनि अनिवार्य जस्तै भएको अधिकृत राईले बताउनुभयो। कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएपछि कर्मचारीहरूमा कार्यबोझ पनि बढेको छ।

कार्यालयबाट अहिले दैनिक जसो ५०/६० जना सेवाग्राहीले स्थायी लेखा नम्बर लिइरहेका छन्। जनशक्ति अभावको कारणको काममा केही असहजता भने भएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७६–०७७ देखि लेखा नम्बर नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए १ हजार रुपियाँ भन्दा बढी मूल्यको बिजक बापतको खर्च कट्टी गर्न नपाउने नियम लागू गरिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या कार्यालयमा बढेको हो।

 

प्रतिक्रिया दिनुहोस्