सिमरामा डेंगुविरुद्धको अभियान



नेपाल समाचारपत्र, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग नियन्त्रणका लागि नगर क्षेत्रभित्र दुई हप्ते अभियान शुरू गरेको छ।

उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले देशभर प्रकोपको रूपमा देखिएको डेंगु रोग निमयन्त्रणको लागि उपमहानगर क्षेत्रभित्र मंगलबारबाट प्रभावकारीरूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाको कार्यालयमा बसेको बैठकले १५ दिनसम्म नगरभित्रका २४ वटै वडासमितिको अगुवाइमा स्थानीय सामाजिक संघसंस्था, युवा क्लब, सामुदाय प्रहरी साझेदारी समिति, अन्य सुरक्षा निकाय, सञ्चारकर्मी, उद्यमी, व्यवसायी, समाजसेवी, शिक्षक, कर्मचारी आदि सबै वर्ग, क्षेत्र र समुदायको सहभागीतामा निरन्तर सरसफाइ एवम् जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले उपमहानगरपालिकाको क्षेत्रभित्र रहेको सरकारी तथा निजी स्वास्थ्य संस्थालाई डेंगु रोग रोकथामका लागि आफ्नो क्षेत्रबाट अग्रसरता देखाउन र आवश्यक औषधीको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउने र स्वास्थ्य संस्थाकै समन्वयमा लामखुट्टे मार्ने औषधी छर्न व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो।

यसैगरी बैठकमा सहभागी डा. अनुस थापाले डेंगुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने, पानी जमेको र राखिएको भाँडा छोप्ने वा नष्ट गर्ने, लामखुट्टेले अन्डा पार्न सक्ने ठाउँद्म टायर नष्ट गर्ने, शरीरमा लामखुट्टे भगाउने क्रिम लगाउने, शरीर ढाक्ने गरी कपडा लगाउने, राती झुल टाँगेर सुत्ने, र बस्तीको सरसफाइमा ध्यान दिन सकिएमा पनि सुरक्षित रहन सकिने बताउनुभयो।

नगर प्रमुख एव्म विपद् व्यवस्थापन समितिका संयोजक डा. कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रहरी नायब उपरीक्षक गोविन्द पुरी, सशस्त्र प्रहरी निरीक्षक विष्णुराज उप्रेती, अनुसन्धान अधिकृत दीपक चौधरी, रेडक्रस सोसाइटी सिमराका रामकुमार उप्रेती, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जितन ठाकुर, इन्जिनियर सञ्जिव रुपाखेतीलगायतका उपस्थित थिए।

नगर प्रमुख डा. पौडेलले डेंगु रोगको प्रकोप फैलन नदिनका लागि बैठकबाट भएका निर्णयलाई तत्काल कार्यान्यवनमा लगिने जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्