पाल्पाका पाँच जना बिरामीमा डेंगु



नेपाल समाचारपत्र,पाल्पा। पाल्पा जिल्लामा गएको दुई महिनामा पाँच जना बिरामीमा डेंगु देखिएको छ।

जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार साउन र भदौ महिनाको तेस्रो हप्तासम्मको तथ्याड्ढअनुसार जिल्लामा ५ जनामा डेंगु देखिएको हो।

जिल्लाको तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला, गाउँपालिकामा डेंगु देखिएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो।

गतवर्ष पाल्पामा ७ जनामा डेंगु देखा परेको थियो। यस वर्ष ५ जनामा देखा परेकोमा पाँचै जनाको उपचारपछि घर फर्केका छन्। स्वास्थ्यकर्मीका अनुसार डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्दछ।

गर्मीका कारण तराईमा डेंगुको संक्रमण भएको लामखुट्टे पहाडमा देखिएको छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ।

खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खालि ड्रमहरू, फूलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फूल पार्दछ।

शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिएको हो। त्यस्ता लामखुट्टेबाट रोग फैलने भएको हुँदा सामान नष्ट गर्न वा पानी जम्न नदिन स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन्।

एकपटक संक्रमित लामखुट्टेको सबै अण्डा संक्रमित हुने र त्यसबाट उत्पादन हुने सबै लामखुट्टे स्वतः संक्रमित भई रोग सार्ने भएकाले एकैपटक धेरै बिरामी पर्ने सम्भावना बढी रहन्छ।

पाल्पामा डेँगुका विरुद्धमा जनचेतनामूलक अभियान थालिएको स्थानीय तहले जनाएका छन्।

रम्भा गाउँपालिकाले स्वास्थ्य शिक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र डेंगु रोगका विषयमा छिट्टै नै योजना बनाएर अगाडि बढ्ने तयारीमा रहेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो।

यसअघि डेंगुका कुनै पनि संक्रमणहरू नदेखिएकाले गाउँपालिकाले त्यस्तो योजनाहरू नबनाएको र अब तत्कालै डेंगु नियन्त्रणका लागि विशेष योजना बनाएर अगाडि बढ्ने तयारी थालिएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो।

माथागढी गाउँपालिकाले भने डेंगु रोग लाग्न नदिनका लागि अव्यस्थित रुपमा रहेका पोखरी, कुवा, इनारहरूको व्यवस्थापन, झाडी सरसफाइजस्ता गतिविधिलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो।

गाउँपालिकामा डेंगु महामारीका रुपमा नफैलिएको र फैली हाले सर्तकता अपनाउने काममा स्वास्थ्य शाखा लागेको अध्यक्ष थापाले जानकारी दिनुभयो।

तानसेन नगरपालिकाले डेंगु रोगका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको स्वास्थ्य संयोजक शिरबहादुर रानाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्