चार शिक्षकलाई चाँदीको पदक



किरण धामी, दार्चुला। ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा दार्चुलाको महाकाली नगरपालिकाले चार जना उत्कृष्ट शिक्षकलाई नगर शिक्षा पदक लेखिएको चाँदीको पदक प्रदान गरेको छ।

दिवसको अवसरमा आयोजित भब्य समारोहमा महाकाली नगरपालिका भित्र सञ्चालनमा रहेका आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकलाई उक्त नगर शिक्षा पदक प्रदान गरिएको हो।

विद्यालयमा कार्यरत रही शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेबापत उनीहरूलाई चाँदीको पदक प्रदान गरिएको महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनुभयो।

महाकाली नगरपालिका–९ दत्तुमा सञ्चालनमा रहेको राष्ट्रिय मावि दत्तुमा कार्यरत रुक्मणी चैसिर, वडा नम्बर ४ मा सञ्चालनमा रहेको मोती महिला संघ आधारभूत विद्यालयका प्रधानाध्यापक चमकसिंह तिंकरी, महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा कार्यरत तुलसी खत्री र वडा नम्बर ७ धाँपमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीलाई शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेबापत चाँदीको पदक प्रदान गरिएकोे उहाँले बताउनुभयो।

महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा स्थापना गर्न नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यक्रममा नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका दुई सामुदायिक विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ। नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकसित गर्ने अभियानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ती विद्यालयलाई पुरस्कार प्रदान गरिएको नगर प्रमुख भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्