मोरङ कांग्रेसका ६ वटै क्षेत्रले सभापति पायो



विराटनगर, (नेस)।नेपाली कांग्रेसले आफ्नो नेतृत्वलाई संघीय संरचनामा लैजाने क्रममा मोरङका ६ वटै संघीय निर्वाचन क्षेत्रका सभापति चयन गरेको छ। यसरी चयन भएकाहरूमा संघीय निर्वाचन क्षेत्र नं १ मा खड्ग फागो, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ४ मा विनोद बस्नेत, ५ मा दिलिप पोखरेल र ६ मा निरञ्जन रिजाल चयन हुनुभएको हो।

नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा एक संघीय क्षेत्रमा २ वा २ भन्दा बढी क्षेत्रीय सभापति भएको ठाउँमा केन्द्रीय प्रतिनिधि पठाई ७७ जिल्लामा जिल्ला कार्यसमिति बैठक राखी समायोजन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
सोअनुसार नेपाली कांग्रेस मोरङमा ६ संघीय क्षेत्र मध्ये क्षेत्र नं १, ३ र ५ मा एकल सभापति रहेकाले क्रमशः फागो, खड्का र पोखरेल स्वतः सभापति घोषित भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताउनुभयो।

यस्तै मोरङ क्षेत्र नम्बर २ मा नागेश्वरप्रसाद सिंह र सुमन कुँवर, क्षेत्र नं ४ मा मोहनविक्रम कार्की र विनोद बस्नेत र क्षेत्र नं ६ मा निरञ्जन रिजाल र देवराज तामाङ सभापति हुनुहुन्थ्यो। आइतबार बसेको समायोजन समितिको बैठकबाट २ मा सिंह, ४ मा बस्नेत र ६ मा रिजाल सभापति रहने निर्णय गरिएको नेपाली कांग्रेस मोरङले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्