इँट्टा उद्योगहरूमा डोजर लगाइएकोप्रति व्यवसायीको आपत्ति



नेपाल समाचारपत्र, काठमाडौं ।नमोबुद्ध नगरपालिकाले भकुण्डेबेशीमा सञ्चालित आठ वटा इँट्टा उद्योग बन्द भएको बेला डोजर लगाई भत्काइएकोप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन्।

नेपाल इँट्टा उद्योग महासंघले काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत सो कार्यको विरोध गर्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ।पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले यसरी तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचना, चिम्नी, पाकेका इँट्टा, कामदारको बासस्थान र कार्यालय भवन आदिमा गरी करिब १० करोडको भएको जानकारी दिनुभयो।

महासंघका अनुसार इँट्टा उद्योगबाट हुने प्रदुषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिक र इँट्टा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगमा आधुनिक प्रविधि प्रयोग गरी सरकारले तोकेको मापदण्डभन्दा अत्यन्त कम मात्रै प्रदुषण गरिरहेको उहाँको दाबी छ।

पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोवुद्ध नगरपालिकाले आफ्नो पालिका सञ्चालित उद्योगलाई व्यक्तिगत रिइबीका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताउनुभयो।

इँट्टा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले इँट्टा उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेवेसीको बजारमा त्यहीका स्थानिय मेयरले ईट्टा उद्योगमा आक्रमण गराउनुको पछाडी व्यक्तिगत विषय रहेको बताउनु भयो।

इँट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले सो नगरपालिकाका मेयरले इँट्टा उद्योगमा आफ्नो पनि शेयर माग गरेको र उद्योगीले दिन नसक्दा इँट्टा उद्योग नै तहसनहस गर्ने काम गरेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्