‘माड्साब’को निधन, नेपाल वाङ्मयमा अपूरणीय क्षति ः राष्ट्रपति भण्डारी



नेपाल समाचारपत्र, काठमाडौं,
नेपाली साहित्य, पत्रकारिता र पूर्वीय दर्शनका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षित ‘माड्साव’को बिहीबार निधन भएको छ।
राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बिहीबार उहाँको अन्तिम संस्कार गरियो।

उहाँलाई उहाँका तीन पुत्रले दागबत्ती दिनुभयो। अन्तिम संस्कारमा मन्त्रीहरू प्रदीप ज्ञवाली र योगेश भट्टराई सम्मिलित हुनुहुन्थ्यो। आर्यघाटमा पूर्वप्रधानमन्त्री माधव नेपाललगायतका नेताहरूको पनि उपस्थिति थियो भने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको कालिकास्थानस्थित उहाँकै घरमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे निधन भएको हो। जीवनको आखिर समयसम्म पनि उहाँ लेखपढमा सक्रिय हुनुहुन्थ्यो।

निवासमा शौचालय जाँदा बेहोस हुनुभएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी घरमा लगिएको थियो।

विसं १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितका साहित्यिक कृतिहरूमा पूर्वीय दर्शनको व्याख्या छ। पूर्वीय समाजबाट दासप्रथा अन्त्य भएको सम्बन्धमा केन्द्रित दीक्षितको ‘माधवी’ उपन्यास वैदिक साहित्य दर्शनको उच्चकोटीको साहित्यका रूपमा लिइन्छ। ‘माधवी’ कृतिका लागि विसं २०३९ मा दीक्षितलाई मदन पुरस्कार प्रदान गरिएको थियो। सोही वर्ष माधवीले साझा पुरस्कार पनि पाएको थियो। अहिले सो कृतिको आठौं संस्करणका लागि परिमार्जन पनि उहाँले गरिसक्नुभएको थियो।

दीक्षित माधवीलाई पञ्चायती व्यवस्थाप्रतिको ईखको परिणामका रूपमा आफूले लिएको बताउने गर्नुहुन्थ्यो। दीक्षितको सम्पादनमा प्रकाशित समीक्षा साप्ताहिक पञ्चायतले बन्द गराइदिएपछि ‘अखबार खोसे पनि कलम र चिन्तनलाई खोस्न सक्दैन’ भन्दै दीक्षितले माधवी उपन्यास लेख्न शुरू गर्नुभएको थियो। उहाँले २०६८ मा पद्मश्री साधना सम्मान पुरस्कार पनि प्राप्त गर्नुभएको थियो।
जीवनको शुरुआती चरणमा अध्यापन पेसा अपनाउनुभएका दीक्षितले पत्रकारिता हुँदै विसं २०१९ मा साहित्ययात्राको थालनी गर्नुभएको थियो। केही समय उहाँले त्रिचन्द्र कलेजमा पनि अध्यापन गराउनुभएको थियो। रूपरेखा मासिकमा कथा प्रकाशित गरेर साहित्य यात्रा शुरू गरेका उहाँ राम्रा फोटोग्राफर पनि हुनुहुन्थ्यो।

विसं २०५२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको उपकुलपति भएपछि उहाँले समीक्षा अखबार छोरा विनोदलाई हस्तान्तरण गर्नुभयो। त्यसको केही समयपछि पत्रिकाले निरन्तरता पाउन सकेन। साहित्य र पत्रकारिता जीवनका क्रममा दीक्षितले राजा महेन्द्र र वीरेन्द्र, नेताहरू बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, विश्वबन्धु थापा, डा. तुल्सी गिरी आदिसंँगका संवादलाई अन्तर्वार्ता र स्मरणका माध्यमबाट बेलाबखत सार्वजनिक गर्दै आउनुभएको थियो।

उहाँका माधवी उपन्याससँगै चरैवेति, त्यो युग, हाम्रा ती दिनलगायतका निबन्ध संग्रह प्रकाशित छन्। त्यसै गरी दीक्षितका संस्मरण म रुँदै बिर्सन्छु, यात्रावर्णन बर्लिन डायरीका पाना, लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हा¥यो?, ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह) दश लाख हिरोसिमातिर, जीवन महाअभियान, मेरी निलिमा र ऋग्वेदः केही प्रमुख सूक्त, भूमिसूक्तलगायत ४५ भन्दा बढी कृति प्रकाशित छन्।

दीक्षितलाई श्रद्धाञ्जलीका लागि उहाँको शव कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी भए पनि अस्पतालबाट सीधै निवास कालिस्थानमै श्रद्धाञ्जलीका लागि लगिएको थियो। उहाँको परिवारका केही सदस्य र शुभेच्छुकले प्रतिष्ठानको परिसरमा शव राख्न पहल गर्नुभए पनि दीक्षितले जीवित छँदा आफ्नो शव त्यहाँ नराख्नू भन्नुभएकाले कमलादीमा नराखिएको बुझिएको छ।

अपराह्न पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उहाँको दाहसंस्कार गरियो। नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो। उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्य साधक मदनमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ। राष्ट्रपति भण्डारीले शोकसन्देश जारी गरी यस दुःखद घडीमा दीक्षितको योगदानको स्मरणसहित श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो।

उहाँको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ। नेपाली वाङ्मय क्षेत्रमा उहाँको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले बताउनुभएको छ।

त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले एक विज्ञप्ति प्रकाशित गरी दीक्षितको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभयो। विज्ञप्तिमा भनिएको छ ‘२००९ सालअघिको जहानियाँ राणाशासन विरोधी आन्दोलन तथा पञ्चायती विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय दीक्षितले निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलालको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको विस्तारमा उहाँको सक्रियता हाम्रो लागि प्रेरणादायी रहने छ।’

दीक्षितप्रति श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतमलगायत आर्यघाट पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्