मुख्य न्यायाधीवक्तामा काठमाडौंका थपलिया



हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता ओमप्रसाद थपलिया सिफारिस हुनुभएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्य न्यायाधीवक्तामा बिहीबार काठमाडौँ महानगरपालिका–१४, कलंकी निवासी थपलियालाई सिफारिस गर्नुभएको हो ।

नुवाकोटको तत्कालीन मदनपुर गाविसमा जन्मिनुभएका उहाँले राजनीति शास्त्र र कानुनमा स्नातकोत्तर (एमए/एलएलएम) उत्तीर्ण गर्नुभएको छ । २०४४ सालदेखि कानुन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ २०४८ बाट अधिवक्ता र २०७४ साउनदेखि वरिष्ठ अधिवक्ता हुनुभएको थियो ।

मुख्य न्यायाधीवक्तामा सिफारिस थपलियालाई आइतबार साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यतालिका तय भएको छ । प्रदेशको मुख्य न्यायाधीवक्तामा सिफारिस गरिए पनि औपचारिकरुपमा भने मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छैन ।

मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो । मुख्य न्यायाधीवक्ता न्यौपानेले असन्तुष्टि जनाउँदै जेठ २३ गते राजीनामा दिनुभएको थियो । न्यौपाने २०७४ फागुन २४ गते नियुक्त हुनुभएको थियो । मुख्य न्यायाधीवक्ता लागि हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंको नाम चर्चामा थियो । चौलागाईं हेटौंडालाई स्थायी राजधानी तोकिनुपर्ने अभियानात्मक आन्दोलनमा सक्रिय हुनुहुन्छ ।

प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देबकोटाले पनि असन्तुष्टि जनाउँदै असार अन्तिम साता दिनुभएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे पनि नयाँ उपाध्यक्ष नियुक्त भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्