लोकतन्त्र व्यावहारिकरुपमा प्रयोग हुन सकेन



दुई शताब्दीभन्दा लामो राजतन्त्र उन्मूलन गर्दै २०६३ साल वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएपछि थुप्रै राजनीतिक उपलब्धिहरु भएका छन् । आधुनिक नेपालको इतिहासमा नेपाल छिमेकीजस्तो अन्य देशको औपनिवेशिक भाग बन्नु नपरे पनि कहिले जहानियाँ शासन त कहिले निरंकुश राजतन्त्रको भूमरीमा लामो समय रहन गयो । अन्ततः नेपाली जनताले देशलाई गणतान्त्रिक बनाउन र सबैखालका औपचारिक बन्धनबाट औपचारिकरूपमा मुक्त गराइछाडे । तर, लोकतान्त्रिक देशमा आर्थिक–सामाजिक खासै परिवर्तन हुन सकिरहेको छैन । देशमा लोकतन्त्र ल्याउन जति कसरत भए पनि लोकतन्त्रको पद्धतिमा राजनीतिक दल र नेतृत्व पिछडिँदै गएको छ ।

लोकतन्त्रको मर्मलाई बुझ्न नसक्दा देश समृद्धितर्फ बढ्न सकेको छैन । प्रधानमन्त्रीले जति नै समृद्धिका कुरा गरे पनि कार्यान्वयन फितलो देखिएको छ । भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ भने राजनीतिक दलले लोकतन्त्र पद्धतिलाई लत्याउँदै आएको थुप्रै घटनाहरुले देखाउँछ ।

समाजको स्वाभाविक परिवर्तनशील र गतिशील अवस्थामा राजनीतिक शक्तिहरू अभ्यासरत हुनुपर्नेमा आफूखुशी चल्दा नागरिकले लोकतन्त्र आभास गर्न सकिरेहका छैनन् । अहिले पनि नेपालका राजनीतिक शक्तिहरूले देश होइन विदेशका धरोहरहरूको उदाहरण दिएर उनीहरूको उन्नति र त्यागका गुण गाएर आत्मतृप्ति गर्ने गर्दछन् । देशको परिवर्तनसँगै गर्नुपर्ने दायित्व र भूमिकाप्रति अझ पनि अनभिज्ञ बनिरहनुपर्ने आजको हाम्रो नियति नै बनेको छ ।

तसर्थ, देशले लोकतन्त्र पाएको १३ वर्ष बितिसक्दा पनि नागरिकले गाँस, बास र कपासको लागि भौंतारिरहनु दुर्भाग्य हो । लोकतन्त्रको आभास गराउन नेतृत्वकर्ता, राजनीतिक दल र सम्बन्धित सबै गम्भीर हुन आवश्यक छ । अतः नेपालमा ‘लोकतन्त्र’लाई केवल भावुक विम्बका रूपमा नलिई मानवीय सभ्यता र समृद्धिको एकीकृत उपयोगतर्फ ध्यान दिन आवश्यक छ । अब जनअपेक्षाको मनन गर्दै लोकतन्त्रको व्यावहारिक प्रयोग गरिनुपर्छ ।
– मन्दिरा सुनार, भक्तपुर ।

रोजगार दिन प्राविधिक शिक्षा
मुलुकमा शैक्षिक जनशक्तिहरु बेरोजगार बनिरहेका छन् । स्नातकोत्तर उत्तीर्ण गरेका कैयौं जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ भने डिग्री हासिल गरेर पनि सामान्य रोजगार पाउन नसकेका दृष्टान्त थुप्रै छन् । विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लाग्दा पनि नेपाली समाजमा शिक्षित जनशक्ति राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेको छ । यो अधिकांश नेपालीको नित्य कर्मजस्तै बन्न पुगेको छ ।

सीपमूलक काम गर्ने र क्षमताअनुसार आफ्नो कमाइ गरेर खाने संस्कृतिको अझैसम्म पनि विकास नभएका कारण हाम्रो देश विकासमा धेरै पछाडि परिरहेको छ । प्राविधिक ज्ञान हुनेहरु कोही पनि बेरोजगार बन्नुपर्दैन । त्यसैले आजको प्रमुख आवश्यकता नै व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा हो ।

देशमै केही गरौँ भन्ने भावना भएका युवा शक्ति नगण्य छन् । प्रायः युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति बढिरहेको छ । देशमा जनशक्ति घट्दै जाँदा नेपालमा घर बनाउनुपरे वा विकास निर्माणका जुनकुनै काम गर्नुपरे पनि छिमेकी भारतका मजदुरकै भर पर्नुपर्ने अवस्था छ । यतिसम्म कि खेतबारीमा भारतीय मुलका नागरिकले नै धान रोपिदिनुपर्ने, कपडा सिलाइदिनुपर्ने, धान भित्र्याइदिनुपर्ने र काटिदिने काम गरिदिनुपर्ने अवस्था छ । दुर्भाग्य नै भनौँ, मेहनत गर्न सके नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि अरुले नै सिकाइदिनुपरेको छ ।

अहिले देशभर भर्ना अभियान जारी छ । स्कुले बालबालिकालाई आफ्नो तौलबराबरको किताबको भारी बोकाएर हामीले शिक्षाका नाममा यातना दिइरहेका छौँ । कापीकिताबको संख्या बढाएर मात्रै विद्यार्थी शिक्षित हुने होइनन् । कैयौं देशमा बालबालिकाको रुचिअनुसार पठनपाठन गराउने अभ्यास भइसकेको छ । बालमैत्री, विद्यालयमैत्री र प्रविधिमैत्री वातावरणमा बालबालिकाले शिक्षा आर्जन गर्न सके दक्ष जनशक्ति स्वतः उत्पादन गर्न सकिन्छ । तर, हामीकहाँ शिक्षक देख्नासाथ विद्यार्थीको सातो जाने अवस्था विद्यमान छ । वर्षौंदेखि लादिएर पढ्न बाध्य नेपाली युवा जनशक्ति अन्ततः खाडी मुलुकहरुमा ‘थ्रीडी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य हुनपर्ने नियति छ ।

एकातिर हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ भने शिक्षित जनशक्ति पनि प्राविधिक ज्ञान नहुँदा जस्तोसुकै कामका लागि पनि विदेशिनुपर्ने बाध्यता छ । त्यसै कारण गरिबी हाम्रो स्थायी मित्र बन्न पुगेको छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थी तथा अभिभावकको ध्यान केन्द्रित भइरहेको छ । तर, अझै पनि प्राविधिक शिक्षा अधिकांशको रोजाइमा पर्न सकेको छैन । एसईई परीक्षा उत्तीर्णसँगै भविष्यको मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सकेमात्र शैक्षिक बेरोजगारको पनि अन्त्य हुनसक्छ ।

प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु जरुरी भइसकेको छ । जुन विषय अध्ययन गरे पनि त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । देश विकासको मुख्य आधार नै शिक्षा प्रणाली भएकाले सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ । देश बनाउन युवाहरुको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ । तसर्थ उनीहरुलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुने विश्वास गर्न सकिन्छ ।

देशलाई आर्थिक विकास र समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्त रुप दिनु राज्यको दायित्व पनि हो । अहिलेको कतिपय विद्यालयमा प्राविधिक विषय अनिवार्य गरिएको छ । यो खुशीको विषय हो । प्राविधिक शिक्षाबाट मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम न्यूनीकरण हुने आशा गर्न सकिन्छ ।

मुलुकभित्रै बेरोजगारी र अवसरको कमीले गर्दा उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । यो राज्यका लागि ठूलो क्षति हो । त्यसैले हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ । व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै चाँडै मुलुक रुपान्तरण हुनसक्छ ।
– प्रशान्त श्रेष्ठ, थानकोट, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्