चीनको समृद्धिबाट प्रभावित



दीर्घराज प्रसाईं, दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस् तर जब चीन निद्राबाट ब्यूँझिन्छ तब उसले विश्वलाई हल्लाउँछ ।’ यो भविष्यवाणी अहिले साकार भएको छ । चीनको चामत्कारिक विकासले विश्वलाई झकझक्याइरहेको छ । चीन भौगोलिक रुपमा संसारकै ठूलो देश हो । तर कुनै बेला गरिबीको कारणले चीन संकटमा थियो । चिनिया जनताले सशक्त देशभक्त नेतृत्व पाएपछि चीन अहिले बलेको छ । घर–घरमा, कोठा–कोठामा तातो–चिसो फाल्ने एयर कन्डिसनको व्यवस्था छ ।

शहर र गाउँमा केही फरक परे तापनि जनताको लागि सबैलाई समान व्यवहार गर्ने चिनिया नीति देखियो । चीनको सत्तामा हरेक नेतृत्वको समयावधि ५ वर्ष र बढीमा १० वर्ष तोकिएकाले हरेक १०–१० वर्षमा चीनको सत्ता परिवर्तन हुने परिपाटी बसेको छ । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चिनिया जनताको इच्छा बुझेर तेङसियाओ पिङबाट जुन योगदानहरु भए, त्यही नै अहिलेको चीनको चमत्कार हो । तेङसियाओ पिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्रलाई उजागर गर्ने कार्य भएको र यसले चीनले विश्वमा वाणिज्य तथा वयापार मात्र होइन, विश्वमा नै विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कारी विकास गरेको देखियो । समयअनुसार चल्ने चिनिया कम्युनिस्ट पार्टीले लक्ष्य बनायो ।

तेङसियाओ पिङले सन् १९७७ मा नेपालको भ्रमण गरेका थिए । त्यस बेला मैले पनि स्वागत गर्ने मौका पाएको थिएँ । त्यस भ्रमणको अवसरमा उनले भनेका थिए– ‘नेपाल आफ्नो सांस्कृतिक इतिहासमा धनी छ । नेपालका जनता सार्वभौमसत्ताका र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादको विरुद्ध सधैँ सक्रियरुपमा संघर्षरत छ ।’ तेङसियाओ पिङको १० वर्षपछि जीन जमिन सत्तामा आएपछि ब्रिटिस र पोर्तुगालसँग सुमधुर मित्रता बढाएर सन् १९९९ मा मकाउ पोर्तुगलको उपनिवेश र बेलायतको उपनिवेशबाट हङ्कङलाई चीनमा गाभ्ने काम गरे ।

तर चीनका कम्युनिस्टहरुको दाँजोमा नेपालमा कम्युनिस्टहरुको तुलना गर्न सकिँदैन । नेपालका कम्युनिस्ट भनेका भारतपरस्त ठहरिएका छन् । नेपालको राष्ट्रियता तथा यसका पहिचानहरुलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्तामाथि नै आक्रामक हुने, माओवादीको नाममा नेपालका कम्युनिस्टले नेपाली जनताको अपहरण, हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउने, ठूल्ठूला भवन बनाउने, लुटका पैसाले दादागिरी गरेर शक्ति प्रदर्शन गर्ने, देश डुबोस् वा जेसुकै होस् वा नेपाली जनता मरुन्, त्यसको चासो नेपालका माओवादीहरुले लिएनन् ।

जीन जमिनपछि हु जीन ताओ राष्ट्रपति बनेर चीनको अर्थतन्त्रलाई विश्वको सामू चुनौतीपूर्ण बनाउने काम गरे । चीनले धर्म स्वतन्त्रताको नीति लिए तापनि हु जीन ताओ पश्चिमा राष्ट्रहरुले चीनलाई इसाई साम्राज्यबाट ध्वस्त गर्ने नीति लिएकाले उनी क्रिश्चियनप्रति अनुदार थिए । जीन ताओको अवधि समाप्त भएपछि सी जीनपिङ् चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता र राष्ट्रपति बनेपछि उनले महान् नेता माओ र तेङसियाओ पिङको बाटो समातेर बडो उदार नीतिबाट विश्वभरि राम्रो समझदारी बनाउन सफल बनेका छन् ।

तेङसियाओ पिङको समयदेखि १०–१० वर्ष चिनियाँ राष्ट्रपतिको पदावधि निर्धारित गरिएको थियो । तर सी जीन पिङ लोकप्रिय भएकाले ५ वर्षको अवधि बितेपछि सी जीन पिङ जीवनभर राष्ट्रपति बन्न सक्ने चीनको सर्वोच्च महासमितिले निर्णय गरेपछि उनी विश्वभर चर्चाको शिखरमा छन् । नेपालको सार्वभौमसत्ता सुदृढ रहिरहोस् भन्ने चीनका नेता माओ र तेङसियाओ पिङको चहाना थियो । माओ र तेङसियाओ पिङहरु नेपालको राजसंस्थालाई साम्राज्यवादी शक्तिसँग भिड्न सक्ने शक्तिको रुपमा लिन्थे ।

चिनियाँ जनताले सशक्तरुपमा देशभक्त भई नेतृत्व पाएपछि चीन अहिले बलेको छ । म साम्यवादको समर्थक नभए पनि चीनको चौतर्फी चमत्कार देखेर अत्यन्त प्रभावित भएको छु । अब नेपालले पनि चीनबाट पाठ सिकेर प्रजातान्त्रिक व्यवस्थाको माध्यमबाट सार्वभौमसत्तालाई जोगाउँदै समृद्धितर्फ लम्कनुपर्छ ।

कम्युनिस्ट नेता माउत्सेतुङको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि अहिलेसम्मको यो ७५ वर्षको समयमा चीन विश्वको शक्ति सम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । समयको गतिलाई चिनेर माउत्सेतुङपछि चिनिया नेता तेङ सियोपिङको नेतृत्वमा खुला नीति अवलम्बन् गरेर साम्यवादको सफल कार्यान्वयन गरी चीनले संसारमा चमत्कार देखाएको छ ।
तीन वर्षअगाडि मलाई चीनको भ्रमण गर्ने अवसर मिलेको थियो । यो मेरो निजी भ्रमण थियो । ४५ वर्षअगाडि बे्रजनेबको समयमा मैले सोभियत रुसको भ्रमण गर्ने मौका पाएको थिएँ । तर मलाई भ्रमणको १३ दिनमा नै प्रतिशोध राखेर फिर्ता पठाइयो । किनकि मैले नेपालको राष्ट्रियताको समर्थन गरेर विश्व शान्ति सम्मेलनमा बोलेको थिएँ । तर केही वर्षपछि सोभियत रुस ढल्यो ।

सोभियत रुसको दाँजोमा चीनको भ्रमण अत्यन्तै न्यानो थियो । चीन र चिनिया जनताको विकास, समृद्धि र सच्चाइको लागि त्यहाँ महान् कार्यहरु सम्पन्न भएका छन् । चीन विश्वको समृद्ध राष्ट्रको रुपमा देखिँदै छ । बेलायती साम्राज्यले चीनमा पसेर चिनियाहरुलाई कमजोर र गरिब बनाई चिनियाँ स्रोत तथा सम्पत्ति लुटेकाले चीनमा साम्यवादी व्यवस्थापछि चीनले साम्राज्यवादीहरुको खोइरो खन्यो । चिनिया सरकार र जनता चीनको सार्वभौमसत्ताको सुदृढीकरणमा सधैँ जागरुक रहन्छन् । चीनको सम्पूर्ण, जमिन, उद्योग, भवन, जनता बस्ने घर आदि सरकारको अधीनमा हुन्छन् । कुनै पनि चिनियाले आफ्नो इच्छाअनुसार स्वतन्त्रपूर्वक काम गर्ने गर्छन् । तर हरेक चिनियाले आफू बसेको घर र आफूबाट उत्पादित सामग्रीहरुको सरकारलाई कर बुझाउनुपर्छ । कर तिर्नमा कसैले धाँधली गर्न पाउँदैनन् ।

चीनमा राष्ट्रवादी नेता माओत्सेतुङले साम्राज्यवादको विरुद्ध चिनिया जनता संगठित गरेर ठूलो संघर्षका साथ सन् १९४९ मा जनगणतन्त्र घोषणा गरी त्यसैबाट चीनलाई आधुनिकीकरण गर्ने महायज्ञमा समाहित हुन पुगे । तेनमेन स्क्वाएरको सम्पूर्ण घर, झुप्राहरु भत्काएर आधुनिक मैदान बनाए । तेनमेन स्क्वाएरको अर्कोपट्टि ग्रेटहल अफ चीनको निर्माण गरेर राष्ट्रपति, मन्त्री त्रपरिषद्, अन्तर्राष्ट्रिय भेटघाट आदि सर्कारी कामकाजको केन्द्र बनाए । ग्रेटहलले धेरै भूभाग ओगटेको छ ।

चीन साम्राज्यवादी शक्तिसँग डराएन । चीनमा ठूलो उथलपुथल आयो । चीनको नेतृत्व तहमा रहेकाहरु देशभक्त र राष्ट्र निर्माणमा सधैँ सरिक छन् । कुनै पनि भ्रष्ट र देशद्रोही भेटियो भने त्यस्ताको अन्त्य हुन्छ । चीन अहिले भौगोलिक रुपमा मात्र होइन भौतिक उन्नतिको हिसाबले पनि संसारकै उच्चकोटिको समृद्ध राष्ट्रको रुपमा देखा परेको छ । माओले करिब तीन दशक शासन गरे । माओपछि तेङसियाओ पिङ सत्तामा आएपछि उनले समाजवादी अवधारणाबाट खुल्ला अर्थतन्त्रको निजीकरण गराएर चीनको विकासमा ठूलो परिवर्तन ल्याउने काम गरे ।

अहिले चीनको अमेरिकामा बढ्दै गएको प्रभाव देखेर राष्ट्रपति रोलाल्ड ट्रमले चिनिया सामग्री घटाउने नीति घोषणा गरे । त्यसको लगत्तै चीनले २५ प्रतिशत भन्सार बढाइदिएकाले अमेरिकी जनताको टाउको दुःखेको छ । किनकि चिनियाँ समानहरु अत्यन्त सस्ता छन् । अमेरिकाले जति नै चिनिया उपभोग्य सामग्री बन्द गराउन खोजे तापनि अमेरिकाको केही चल्न सक्ने देखिँदैन । चीन अमेरिकालाई आफ्नो बजार बनाउन सफल हुँदै छ । अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि सी जीन पिङ्ले टेलिफोनबाट बधाई दिएर अमेरिकी आक्रोशलाई निस्तेज बनाइदिएका थिए । अमेरिकाको निर्देशनमा चीनको उग्र विरोधमा उत्रेका दलाई लामा र फ्री तिब्बतवाला हेरेका हे¥यै भए ।

चीनमा जीवन पद्धति तीन किसिमको छ– नेतृत्व तह, व्यापारी–उद्योगपति र किसान । नेतृत्व तहमा बसेकाहरु आ–आफ्ना कर्तव्यसँग अत्यन्त सचेत र जिम्मेवार रहन्छन् । किसानले सरकारबाट जग्गा र बस्ने घर पाउँछन् । घर र जमिनको कर तिरेर जति उत्पादन गर्न सकिन्छ त्यो चिनिया किसानको सम्पत्ति हुन्छ । किसानहरु किसानीबाहेक अन्य काम गर्न र हिँडडुल गर्न व्यक्तिगतरुपमा स्वतन्त्र हुन्छन् । उद्योगपतिहरु नयाँ–नयाँ उद्योग निर्माण र उत्पादनमा सक्रिय भएका छन् ।

चीनमा ठूला–ठूला भवनहरु निर्माण भएका छन् । हरेक भवन ठेकेदारहरुले तोकिएको नियम कानुनअनुसार लगभग ७० वर्षसम्म लिजमा निर्माण गरेका हुन्छन् । ६०–८० तले भवनहरु ठडिएका छन् । हरेक तलाहरुमा अनेकौं कार्य भइरहेका छन् । राष्ट्रपति सी जीन पिङ्ले चीनमा भ्रष्टहरुलाई कडा दण्ड दिएकाले चौतर्फी उनको समर्थन छ । चीनमा पानीको अभाव भएको थाहा हुन्न, लोडसेडिङ हुँदैन । पानीको कर महिना नाघेपछि बुझाउनुपर्छ तर बिजुलीको पहिला नै रकम बुझाउनुपर्छ नत्र बत्ती निभ्छ । यहाँका सबै सडक, बगैँचा, पार्कहरु सधैँ सफा र सुन्दर रहन्छन् । आवश्यक ठाउँमा निःशुल्क ट्वाइलेटको व्यवस्था छ । यहाँका जनता जुनसुकै तहका हुन्, मिलनसार र मद्दतकारी छन् ।

नेपालजस्तो चीन सुगम भूमि होइन, जाडोमा अत्यन्त जाडो र गर्मीमा अत्यन्त गर्मी हुने स्थान हो । चिनियाँ जनताले सशक्तरुपमा देशभक्त भई नेतृत्व पाएपछि चीन अहिले बलेको छ । म साम्यवादको समर्थक नभए पनि चीनको चौतर्फी चमत्कार देखेर अत्यन्त प्रभावित भएको छु । अब नेपालले पनि चीनबाट पाठ सिकेर प्रजातान्त्रिक व्यवस्थाको माध्यमबाट सार्वभौमसत्तालाई जोगाउँदै समृद्धितर्फ लम्कनुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्