शिक्षाका माली डा. सुरेशराज शर्मा



मोहन दुवाल
क्षा जगत्मा उल्लेखयोग्य कार्य गर्न सफल अर्थात् निजी क्षेत्रमा अति चर्चित काठमाडौं विश्वविद्यालय स्थापना गरेर काभ्रेको उराठलाग्दो डाँडोलाई शैक्षिक क्षेत्रको रमणीय तीर्थस्थल बनाइदिने कुशल हस्तीको नाम हो डा. सुरेशराज शर्मा। कठिन मेहनत र तपस्या गरेर एकचित्त रहेपछि जे काम पनि फत्ते गर्न सजिलो पर्न सक्छ।

मान्छेले गरेर नसक्ने केही पनि कामकुरो हुनै सक्दैन। यस्तै असम्भवजस्तो कार्यलाई सम्भव बनाइदिएर शिक्षा जगत्मा एउटा अनौठो हलचल ल्याइदिने शिक्षाक्षेत्रका एकजना चर्चित विद्वान्कै नाम हो डा. सुरेशराज शर्मा। शिष्ट बोलीबचन, बोल्न निकै सिपालु, सौम्य ढंगको विश्वसनीयता उजागर गर्न सक्षम वक्ता, निरन्तर विश्वास र आस्थामा कुदिरहन मन पराउने शिक्षासंसारका एकजना अथक यात्रीको नाम हो डा. सुरेशराज शर्मा। धुलिखेलको पाखोमा उच्च शिक्षाको सुरम्य फूलबारी सजाएर आफ्नै देश र विदेशमा समेत शिक्षारुपी फूलहरूको सुगन्ध बाँड्न सिपालु मालीका रुपमा प्रतिस्थापित गर्न मिल्ने एकजना भद्र व्यक्तित्व हुन् डा. सुरेशराज शर्मा।

परिष्कृत चिन्तन गर्ने वा स्वावलम्बी हुनसक्ने सीप प्रदान गर्न सक्ने र अरूलाई बाटो देखाउन सक्ने हुनुपर्ने भनी शिक्षाको परिभाषा गर्दा डा. सुरेशराज शर्माले परिचयको क्रममा उल्लेख गरेका छन्। राम्रा शिक्षक कस्तालाई भनिन्छ भन्ने प्रश्नमा जो आफ्नो पेसाप्रति निष्ठावान् छ र जो सदा अर्काको कठिनाइ समाधान गर्न इच्छुक र जागरुक रहन्छ भन्ने भनाइ उनले उल्लेख गरे। यस्तै सन्दर्भका कुराहरू ठाउँ–ठाउँमा उनले यसरी पनि पोखेका छन्– ‘शिक्षकको भूमिका सर्वोपरि महत्वको देखिन आउँछ। शिक्षक योग्य भएन भने, इमानदार भएन भने र कर्तव्यपरायण भएन भने शिक्षाको स्तर उठ्न सक्दैन। ऊ इमानदार भयो भने उसले आफ्नो योग्यता बढाएर विद्यार्थीको पढाइप्रति आफूलाई पूर्णरुपले जिम्मेदार ठहर्याएर पठनपाठन गर्न खोज्छन्। अहिले शिक्षकहरूले अत्यधिक मात्रामा राजनीतिमा भाग लिने र राजनीतिक प्रश्रय खोज्ने परम्पराले शिक्षालाई धेरै प्रभावित पारेको छ। वास्तवमा शिक्षकले त्यति धेरै मात्रामा राजनीतिलाई सघाउनुपर्ने आवश्यकता नै छैन। शिक्षकले शिक्षकको भूमिका नै राम्ररी गर्यो भने त्यो नै समाजको ठूलो सेवा ठहर्नेछ।’

शिक्षा जगत्का कुशल माली डा. सुरेशराज शर्माको जन्म माता सावित्री उपाध्याय र पिता विष्णुप्रसाद उपाध्यायको कोखबाट वि.सं. १९९७ श्रावण ७ गते खुर्कोट, सिन्धुलीमा भएको थियो। लगनशीलता, मिहेनत र कठिन प्रयासबाट नै रसायनशास्त्रजस्तो कठिन विषयमा बेलायतजस्तो अति विकसित मुलुकबाट उनले उच्च अंक ल्याई पी.एच.डी. उपाधि हासिल गरेका हुन्। शिक्षामा निरन्तर समर्पित भई भावनात्मकरुपले नै शिक्षा जगत्मा आफ्ना पसिनाका बुँदहरू पोखेका उनले थुप्रै अनुभवका बाबजुद कठिन प्रयासपछि मात्र काठमाडौं विश्वविद्यालयको सिर्जना र निर्माण गर्न सकेको हो। सरकारबाट हुने राम्रा–राम्रा कार्यहरूभन्दा अझ राम्रा कार्यहरू निजी क्षेत्रबाट पनि हुन सक्छन् भन्ने कुराको उदाहरण भइदिएको छ काठमाडौं विश्वविद्यालय। केही सहयोगीहरूकै प्रयासमा वि.सं. २०४२ तिर भ्याली क्याम्पस सञ्चालन भइसकेपछि त्यसको स्तर वृद्धि गर्ने लक्ष्यअनुसार २०४७ सालमा सरकारसमक्ष काठमाडौं विश्वविद्यालयको सञ्चालनार्थ स्वीकृतिका लागि अनुरोध गरिएको थियो र सो अनुरोध स्वीकृत भएको थियो। त्यसपछि यिनी उक्त विश्वविद्यालयको उपकुलपतिका रुपमा लामो समयसम्म सेवारत रहे।

काठमाडौं विश्वविद्यालयको सक्षम माली भएर सेवा पुर्याइसकेका यिनले थुप्रै ज्ञानविज्ञानका पुस्तकहरू प्रकाशित गराएका छन्। उनले १. औद्योगिक आत्मनिर्भरतातिर नेपाल, २. एजुकेसन फर वर्क, ३. फाइनान्सिङ अफ एजुकेसन इन नेपाल, ४. विज्ञान कक्षा ९ र १० (भाग १, २, ३) का पाठ्यपुस्तकसमेत लेख्न भ्याएका छन्। एजुकेसन एन्ड डेभलप्मेन्ट स्किल डेभलप्मेन्ट, विकासका निमित्त शिक्षा, नेपालमा सीप विकास नामक पुस्तक तथा पत्रिकाहरूको पनि उनले स्तरीय ढंगले सम्पादन गरेका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, दक्षिण कोरिया, जापान, चीन, अमेरिका, संयुक्त अधिराज्य, जर्मनी, फ्रान्स, स्वीटजरल्यान्ड, अस्ट्रिया, डेनमार्क, नर्वे, केन्या, जिम्बाबे आदि देशहरूमा पुगेर शिक्षण क्रियाकलापका अनेकौं माध्यमहरूमा आफूलाई संलग्न गरिसकेका यिनले बूढानीलकण्ठ स्कुलमा शिक्षक भएर, त्रिचन्द्र कलेजमा (२०२१–२६) प्राध्यापक भएर, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (२०२६–३४ सम्म) लेक्चरर, रिडर र प्राध्यापक भएर, २०३४ देखि २०४३ सम्म शिक्षा समितिका सदस्य सचिव भएर, २०४३ देखि २०४७ सम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा कार्यकारी निर्देशक भएर सेवा पुर्याइसकेको अनुभव छ।

यस्तै अनुभवका पारखी डा. सुरेशराज शर्माले वि.सं. २०४८ देखि लामो समयसम्म काठमाडौं विश्वविद्यालयका मुख्य व्यक्ति रहेर शैक्षिक जगत्मा एउटा राम्रो उदाहरण भई आफूलाई योग्य साबित गरेका छन्। शिक्षणसेवा सेवामुखी र आदर्शमुखी लागेकोले शिक्षणसेवामा संलग्न भएको बताउन रुचाउने उनी नेपालकै लागि केही गर्न सके हुन्थ्यो र गरिब र पिछडिएका वर्गलाई काम लाग्ने सीप तालिम दिने परिपाटी सिर्जना गर्न सके हुन्थ्यो भनी आफ्नो इच्छा जाहेर गर्ने गर्छन्। त्यस्तै मन पर्ने मान्छेबारे कुरा गर्दा उनी भित्री रुप र बाहिरी रुप उस्तै छ जो सरल छ, जो इमानदार छ र कर्मठ छ त्यस्तो व्यक्ति मन पर्ने कुरा बताउने गर्छन्। उनलाई मन नपर्ने विषय बाहिरी आडम्बर बोकेका पराभिमुखी, अरूको टिकाटिप्पणी मात्र गर्ने बानी हुन् भनी बताउने गर्छन्। अचेल उनी सधैँजसो शैक्षिक÷प्राज्ञिक गोष्ठी, भेटवार्ता, अन्तरक्रिया, बैठक, सभा–समारोहमा जीवनका क्षणहरू गुजार्ने गर्छन्।

अति संयमित, धेरै शिष्ट र भलाद्मी देखिने उनले आफ्नी श्रीमतीको सहयोगमा कोपिला, सृजा, कञ्चन, सिर्जनजस्ता सिर्जनाका फूलहरू हुर्काएका छन्। राम्रो ढंगको शिक्षण अनुभूति बटुलेर राम्रै ढंगको शिक्षणसेवा पुर्याएका उनलाई महेन्द्र विद्याभूषण क र ख श्रेणीका पदकहरूका साथै थुप्रै राष्ट्रिय गौरवका सम्मान, पुरस्कारहरू प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय जगत्ले पनि उनलाई सम्मान गरेर कदर गरेको देखिन्छ। यिनका थुप्रै शिक्षासँग सम्बन्धित गहन पुस्तकहरू प्रकाशित हुनाका साथै पछिल्लोपल्ट नेपालका कुना–कन्दरा पुगेर ‘स्वर्गमा पैदल’ पुस्तकमार्फत यिनले ‘नेपाल राम्रो छ, तर धेरैले देख्न पाएका हुँदैनन्।’ भनी नेपालको प्रशंसामा पुस्तक लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्