निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना



डिल्लीराम मिश्र
नेपालको पानी जनताको लगानीजस्तो शाश्वत अभिव्यक्तिलाई आत्मसात् गर्ने हो भने देशमा धेरै प्रकारका जलविद्युत् परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्। यी र यस्ता परियोजनाहरूमध्ये १४० मेघावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यको गति तीव्ररूपमा अघि बढेको छ। नेपालमा अहिलेसम्म निर्माणकार्य सम्पन्न भएका र निर्माणको चरणमा रहेका जति पनि जलविद्युत् परियोजनाहरू छन्, ती सबै रन अफ दि रिभर प्रकारकै छन्। देशमा यस्ता प्रकारका जलविद्युत् आयोजनाहरू कार्यान्वयनमा ल्याउनुभन्दा जलाशययुक्त आयोजनाहरू निर्माण गरिनु देशको हितको पक्षमा छ। निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य यसको एउटा उत्तम पक्ष हो।

पानीको बहावको आधारमा विद्युत् निस्कने अर्थात् आरओआर योजनाहरूमा लगानी नगर्ने नीति नेपाल विद्युत् प्राधिकरणले अवलम्बन गरेको छ। यसले जलाशययुक्त आयोजनाहरूलाई नै विशेष प्राथमिकतामा राखेको छ। चरम खडेरीको समयमा पनि आवश्यकता अनुरूप विद्युत् उत्पादन गर्न सकिने हुँदा यस्ता आयोजनाहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्य प्राधिकरणको रहेको छ। अहिले देशका धेरै जलाशययुक्त जलविद्युत् आयोजनाहरूबारे विभिन्न चरणमा काम भइरहको छ, जसलाई प्राधिकरणले प्राथमिकताको सूचीमा राखेको छ।

मुलुकमा निर्माण सम्पन्न जलाशययुक्त आयोजनाहरूअन्तर्गत ६० मेघाबाट क्षमताको कुलेखानी प्रथम र ३२ मेघावाटको कुलेखानी दोस्रो आयोजना मात्र जलाशययुक्त आयोजनामा पर्दछ। यस क्रममा १४० मेघावाट क्षमताको निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य प्रारम्भको अन्तिम चरणमा छ।

नेपाल विद्युत् प्राधिकरणले जलाशययुक्त जलविद्युत् विकासको लागि गरेको अध्ययनले तनहुँ जलविद्युत्लाई पहिचान गरेको हो। यस आयोजनाको निर्माणका लागि नेपाल सरकारद्वारा जापान सरकार, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग अर्थात् जाइकाको प्राविधिक सहयोगमा स्तरवृद्धि सम्भाव्यता अध्ययन कार्यान्वयन गर्न अनुरोध गरिएको थियो, तदनुरूप जाइकाको टोलीले २०६२ साल पुसबाट अध्ययन शुरु गरेको हो।

यस आयोजनाको बृहत् अध्ययन डिजाइन कार्य एसियाली विकास बैंकको आर्थिक सहयोगमा सम्पन्न भएको हो। दमौली बजारको दक्षिणतर्फ मादी नदीको संगमस्थलभन्दा केही माथि सेती नदीमा ११२ मिटर अग्लो बाँध बाँधेर यस जलाशययुक्त आयोजनाको निर्माण गरिनेछ। झापुटारको पानीलाई १,२०० मिटर लामो सुरुङमार्ग निर्माण गरी दुले पहरोभित्रै विद्युत् गृह निर्माण गर्ने योजना रहेको छ। ११२ मिटर अग्लो बाँध र १२० मिटर अग्लो हेडमार्फत भूमिगत पावरहाउसमा पानी खसाली विद्युत् उत्पादन गरिनेछ र बिजुली उत्पादनपछि पानी पुनः सेती नदीमै पठाइनेछ। सेती नदीको पानी दमौली बजारभन्दा केही तल टनेलमार्फत पठाइने यस आयोजनाको जलाशयमा १९० मिलियन क्युबिक पानी भण्डारण गर्न सकिनेछ, जसबाट आयोजनाले बाह्रै महिना पूरै क्षमतामा विद्युत् उत्पादन गर्न सक्नेछ।

तनहुँ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता भएको छ। विभिन्न दातृ निकायहरूको ऋण सहयोगमा सम्पन्न हुने निर्माणकार्यअन्तर्गत यस आयोजनाको कुल लागत ५०.५ करोड अमेरिकी डलर अर्थात् रु. ५० अर्ब लाग्ने अनुमान गरिएको छ। यस वित्तीय लागतबाट आयोजनाको निर्माणसहित, प्रसारण लाइन र ग्रामीण विद्युतीकरणसमेत समेटिनेछ। प्रस्तुत आयोजना निर्माणको लागि एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर, जाइकाको १८ करोड ४० लाख अमेरिकी डलर र युरोपियन इन्भेस्टमेन्ट बैंकले ८ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग गरेका छन्। यस्तै नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने भएको छ। सम्झौताअनुरूप आयोजनाले आगामी २०८० चैत्र अर्थात् अप्रिल २०२४ सम्म विद्युत् उत्पादन शुरु गर्नुपर्नेछ।

प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद सम्झौतासमेत भइसकेको छ। विद्युत् खरिद बिक्री सम्झौताअनुसार प्राधिकरणले आयोजनाको प्रतियुनिट विद्युत् सुख्खा याममा १२ रुपियाँ ४ पैसा र वर्षा याममा ६ रुपियाँमा खरिद गर्नेछ। प्रस्तुत मूल्यमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि गर्न पाउने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ। आयोजना सञ्चालन भएको ८ वर्ष एक महिनादेखि प्राधिकरणले खरिद गर्ने विद्युत् दर सुख्खा याममा प्रतियुनिट १५ रुपियाँ ३८ पैसा र वर्षायाममा ७ रुपियाँ ५४ पैसा पुग्नेछ।

बहुचर्चित प्रस्तुत आयोजनाको मुख्य निर्माणकार्यको ठेक्का इटाली र चिनियाँ कम्पनीले प्राप्त गरेका छन्। १४० मेघावाट क्षमताको यस आयोजनाको लागि नदी फर्काउने र बाँधसहित कामको जिम्मा इटालियन कम्पनी सीएमसीले प्राप्त गरेको छ भने आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान एवम् सञ्चालनसहितको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले प्राप्त गरेको छ। यी दुवै कम्पनीले आ–आफ्ना कामका लागि सबैभन्दा कम रकम कबुलेकाले छनोट गरिएको आयोजनाको दाबी छ।

हेडवकर्स निर्माणको लागि इटालियन कम्पनी सीएमसीले मूल्य अभिवृद्धि करसहित रु. २० अर्ब ६४ करोड ५२ लाखमा टेन्डर हालेको थियो भने आयोजनाको मुख्य भौतिक संरचना र उपकरणको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले मूल्य अभिवृद्धि करबाहेक रु. १३ अर्ब ८ करोड ३५ लाखसहित रु. ३ अर्ब ८३ करोड १४ लाखमा ठेक्का पाएको हो। यस आयोजनाको तेस्रो प्याकेजअन्तर्गत आयोजनास्थल दमौलीदेखि भरतपुरमा बनाइने नयाँ सबस्टेसनसम्म ३७ कि.मि. लामो २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ र यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय ग्रीड प्रणालीमा जोडिनेछ।

नेपालको आर्थिक विकासमा कोसेढुङ्गा बन्न सक्ने तनहुँ जलविद्युत् आयोजना विगतमा अनेक राजनीतिक खिचातानी र विवादका कारण सन् २०२० सम्ममा निर्माणकार्य सम्पन्न हुने लक्ष्य लिएर अघि बढेको यस आयोजना अन्ततः ३ वर्षअगाडि धकेलिएको छ। यस आयोजनाको निर्माणकार्य ढिला हुनुमा पनि तत्कालीन अर्थमन्त्री डा. रामशरण महत र जलस्रोतमन्त्री राधा ज्ञवालीबीचको टकराव हो। नदीको पानी बाँध बाँधेर सञ्चयद्वारा विद्युत् उत्पादन गरिने यो जलविद्युत् आयोजना वर्षैभर निरन्तर विद्युत् आपूर्ति गरिरहने आयोजनाभित्र पर्दछ।

त्यसैले बाह्रै महिना १४० मेघावाट विद्युत् अटुटरूपमा आपूर्ति गर्ने यस आयोजनाले आर्थिक क्रियाकलापलाई बढवा दिई विकासको गतिलाई अगाडि बढाउने अपेक्षा सबै क्षेत्रबाट गरिएको छ। समयमा निर्माणकार्य सम्पन्न नहुँदा आयोजनाको लागत बढन जाने सवाल झनै डरलाग्दो स्थिति बन्न सक्छ। त्यसतर्फ पनि सम्बन्धित पक्ष समयमै सचेत रहनु अति जरुरी छ। तथापि यस आयोजना निर्माणपश्चात् यसले मुलुकको विद्युत् आपूर्तिमा निःसन्देह महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्