पाठक पत्र: प्रहरीको सकारात्मक अभियान



जघन्य अपराधमा प्रहरीकै उच्च अधिकारीको संलग्नता देखिएपछि प्रहरीप्रति जनताको विश्वास नै गुमेको सन्दर्भमा नेपाल प्रहरीले देशभर समुदाय प्रहरी साझेदारी अभियान शुरु गरेको छ । समुदायसंग सहकार्य गरेर अपराध न्युनिकरण गर्ने उदेश्यका साथ देशभर शुरु गरिएको अभियानलाई सकारात्मक रुपमा लिन सकिन्छ । स्थानीय तह र प्रहरीबीच समुदाय प्रहरी साझेदारी अभियान सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर गरेर काम थालिएको छ ।

समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि समुदायको साझेदारीमा संचालन गरिने यो अभियानबाट प्रभावकारी नतिजा आउने अपेक्षा गर्न सकिन्छ । प्रहरीको एकल प्रयासबाट अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न संभव नहुने हुँदा यो अभियानलाई सफल बनाउनको लागि समाजका सबै संस्था र व्यक्तिको सहयोग आवश्यकता पर्छ । अपराध नियन्त्रण, सुरक्षा व्यवस्था र अपराधिक मनोभावनाको अन्त्य गर्ने उदेश्यले संचालनमा ल्याईएको यो अभियानलाई गन्तव्यमा पु¥याउनको लागि प्रहरी र स्थानीय तहले निष्पक्ष र प्रभावकारी भूमिका खेल्नुपर्छ । हिजोका दिनमा प्रहरीले कतिपय अपराधीलाई जोगाउन खोजेको र स्थानीय तहका प्रतिनिधिले आफ्ना मान्छेलाई काखी च्याप्दा पीडित न्याय नपाएका थुप्रै उदाहरणहरु छन् ।

हाम्रो समाजमा घट्ने सामान्य घटनाले अपराधिक रुप लिएका थुप्रै घटनाहरु छन् । यस्ता घटनालाई समयमै नियन्त्रण गर्नको लागि समुदाय प्रहरी साझेदारी अभियानले पहिलो प्राथमिकता दिनेछ भन्ने अपेक्षा नागरिकको छ । स्थानीय निकायमा न्यायिक समिति समेत गठन गरिएको छ । यस्ता न्यायिक समितिले पनि अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् । न्यायिक समिति अपूर्ण हुँदा न्याय सम्पादनका काम समेत प्रभावित बनेका छन् । न्यायिक समितिले पूर्णता नपाउँदा अधिकांश उजुरी प्रहरी कार्यालयमा आउने गरेका छन् । यस्तो अवस्थामा प्रहरीको साथ लिएर स्थानीय निकायले समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सकिन्छ ।

अभियान शुरु गर्दा सम्बन्धित पक्षमा जति आशा देखिन्छ विगतमा त्यो सेलाउँदै गएको पनि हामीले भोगेका छौ । प्रहरी मेरो साथी र मुस्कान सहितको सेवा यसको ज्वलन्त उदाहरण हुन् । समुदायले चाहेको खण्डमा प्रहरीलाई धेरै सहयोग गर्न सक्ने भएकोले अपराध नियन्त्रणमा जनताको साथ लिनु अनिवार्य छ । र प्रहरीले पनि स्थानीयलाई सघाउनुपर्छ ।

केही समययता प्रहरीको काम र क्रियाकलापमा देशव्यापी असन्तुष्टी पनि बढेको छ । समुदायको सहकार्यमा काम गरेमा आउने असन्तुष्टी कम हुने अनुमान गर्न सकिन्छ । जिल्ला तहमा पनि सामुदायिक प्रहरी ईकाई गठन भएर अपराध नियन्त्रणमा काम भैरहेको छ । त्यस्ता काम प्रभावकारी भैरहेको छन् वा छैनन् समयमै समिक्षा गर्नुपर्छ । कामको थालनी गर्ने तर त्यसको प्रभावकारिताबारे समिक्षा नगर्दा अपराध नियन्त्रणको सही तथ्यांक आउन सकेको छैन ।

सुरक्षा व्यवस्था मजबुत बनाउन समुदायमा मात्रै होइन बिद्यालय तहमा संचालन गरिएको सुरक्षा प्रशिक्षण अभियानलाई प्रभावकारी बनाउनुपर्छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएका घटनामा प्रहरी अधिकारी नै संलग्न भएको सार्वजनिक भएपछि प्रहरीप्रतिको जनविश्वास गुमेको देखिएकोले यो अभियानलाई नागरिकले सहयोग गर्नेमा शंका उब्जिन सक्छ ।

अपेक्षा गरौं निर्मला हत्याका दोषी छिट्टै पक्राउ पर्नेछन् । निर्मला पन्त शैलीका अपराधिक घटना घट्न नदिनको लागि समुदाय प्रहरी साझेदारी अभियान अचुक औषधी बन्न सक्छ । त्यसैले यो अभियान नागरिकको हितमा छ । यसलाई सफल बनाउनु सबैको दायित्व हो । यो अभियानले समाज र प्रहरी बीचको द्वन्द्व कम गरेर सुरक्षा क्षेत्र सुधार गर्न महत्वपुर्ण भूमिका खेल्नेमा दुईमत छैन ।
– प्रविन तामाङ, सल्लाघारी ।

 

प्रतिक्रिया दिनुहोस्