वामदेवजीलाई छोडिदिएँ: मानन्धर



गंगा बराल, काठमाडौं
काठमाडौं क्षेत्र नम्वर ७ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन तयार भएको घोषणा गर्नुभएको छ ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मानन्धरले जनताको विकास र समृद्धिको चाहनालाई थप बलियो बनाउन राजीनामा दिन लागेको बताउनुभएको हो । ‘जनताले विकास चाहेका छन्, वामदेवजीले म भन्दा धेरै र राम्रो विकास गर्नुभयो भने जनताले गुनासो गर्दैनन्’, मानन्धरले भन्नुभयो– ‘हिजो मैले जे गरेको थिएँ, जनता सन्तुष्ट छन् अब उहाँ आएपछि बिकासले फड्को मार्छ, म पनि सँगै हुनेछु ।’ मानन्धरले पार्टीलाई राजीनामा पत्र दिइसकेकाले पार्टीको बैठकले यसबारे निर्णय गर्ने समेत जनाउनुभयो ।

मानन्धरले यसअघि २०७० सालको संविधानसभाको निर्वाचन पनि जित्नुभएको थियो । उहाँले त्यति बेला तत्कालीन नेकपा माओवादी (केन्द्र) की नेतृ हिसिला यमीलाई र अहिलेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य विक्रमबहादुर थापालाई हराउनुभएको थियो । नेपाली कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेपछि राप्रपाले आफ्नो उम्मेदवार उठाएको थियो । मानन्धरले आफू कसैको दबाब र प्रभावमा नपरेको दावी गर्नु भएको छ ।

उहाँले आफूले छोडेपछि निर्वाचन जित्ने वामदेव गौतम प्रधानमन्त्री बन्न सक्ने ठोकुवा गर्नुभयो । ‘पार्टीले मलाई भोलि जे पनि जिम्मेवारी दिन सक्छ, राष्ट्रियसभाको सांसद हुँदै उपप्रधानमन्त्रीसम्म बन्न सक्छु, पक्कै पनि प्रधानमन्त्री चाहिँ हुन्न होला’, मानन्धरले भन्नुभयो– ‘मैले मेरा जनतासँग कुरा गरिसकेको छु , उहाँहरुले अपमानित भएको महसुस गर्नुभएको छैन ।’ तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री रहनुभएका थापाले १०हजार ९७ मत प्राप्त गर्नु भएको थियो भने मानन्धरले १८ हजार १ सय २ मत ल्याउनुभएको थियो । मानन्धर २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा १६ नम्बरको वडाध्यक्षको समेत भुमिका निर्वाह गर्नु भएको थियो ।

‘पार्टीले मलाई भोलि जे पनि जिम्मेवारी दिन सक्छ, राष्ट्रियसभाको सांसद हुँदै उपप्रधानमन्त्रीसम्म बन्न सक्छु, पक्कै पनि प्रधानमन्त्रीचाहिँ हुन्न होला’, मानन्धरले भन्नुभयो– ‘मैले मेरा जनतासँग कुरा गरिसकेको छु, उहाँहरूले अपमानित भएको महसुस गर्नुभएको छैन।’

७ नम्वर क्षेत्रको सबैभन्दा ठूलो वडाका रुपमा कामपा १६ रहेको छ । सो वडामा २२ हजार मतदाता रहेका छन । ७ नम्बर क्षेत्रमा प्रदेशसभामा पनि वाम गठबन्धनले जितेको छ । प्रदेश १ मा वसन्त मानन्धर र २ मा प्रकाश श्रेष्ठ बिजयी हुनु भएको थियो । १ मा मानन्धरले ३४ मतले पूर्ववडाध्यक्ष कांग्रेस उम्मेदवार विजयबहादुर मालीलाई र २ मा नेकपाकै प्रकाश श्रेष्ठले कांग्रेसकै धर्मराज अर्याललाई लगभग ७ सय मत अन्तरले हराउनु भएको थियो । सो क्षेत्रमा काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५ वडाका साथै नागार्जुन नगरपालिकाको १, २ र ३ वडा पर्छन् ।

महानगरको १८ नम्बर वडा बाहेक अरु ३ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । १८ मा एमालेका न्हुच्छेकाजी महर्जन बिजयी हुनु भएको थियो । नागार्जुनका ३ वटै वडामा एमालेले र तारकेश्वरका ३ मध्ये एउटा वडामा मात्र कांग्रेसले जितेको छ । अरुमा पूर्व एमालेले जितेको थियो । झन्डै ५७ हजार मतदाता रहेको यो क्षेत्रमा लगभग गत निर्वाचनमा ३८ हजार मतदाताले मतदान गरेका थिए ।

२०४८ र २०५१ सालको निर्वाचनमा काठमाडौंमा ५ वटा मात्र निर्वाचन क्षेत्र थिए । यो ७ नम्बर क्षेत्र ५ नम्बरमा पर्दथ्यो । यहाँ २०४८ मा एमालेकी सहाना प्रधानले, २०५१ सालमा पनि एमालेकै राजेन्द्रकुमार श्रेष्ठले निर्वाचन जित्नुभयो । २०५६ मा ७ वटा क्षेत्र भएपछि यो निर्वाचन क्षेत्रमा पूर्व एमाले मंगलसिद्धि मानन्धरले, २०६४ सालमा एकीकृत नेकपा माओवादीकी हिसिला यमीले चुनाव जित्नुभयो । त्यसपछिका २ वटा निर्वाचन मानन्धरले जित्नुभएको हो ।

वामदेव गौतमले प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया–१ बाट कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमसँग पराजय भोग्नुभएको हो । वामदेवलाई सञ्जयले ७ सय ५३ मतले पराजित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्