अवैध शैक्षिक संस्थाका सञ्चालकहरु धमाधम पक्राउ



हेटौंडा,(नेस) ।
हेटौंडामा अवैधरुपमा खुलेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र (ट्युसन तथा कोचिङ केन्द्र) खोली काम कारोबार जारी राखेका सञ्चालकहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

अध्ययन भिसामा विदेश पठाएर राम्रो काम पाउने वा राम्रो काममा लगाइदिने प्रलोभन दिई युवाबाट मोटो रकम असुल्दै आएका र त्यसरी जाने युवा विभिन्न देशमा मानव बेचबिखनको जोखिममा परेको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो ।

मकवानपुरमा यस प्रकारका गतिविधि देखिएकाले त्यस्ता कारोबार सम्बन्धित निकायको अनुमति लिएरमात्र सञ्चालन गर्न असार १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सार्वजनिक सूचना जारी भएको थियो ।

सरकारी नीति÷नियम तथा सूचनासमेत अवज्ञा गरी कारोबार गर्दै गरेको अवस्थामा हेटौंडाका शैक्षिक संस्थाहरुका सञ्चालकहरुलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाइएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

पक्राउ पर्नेमा हेटौंडा–४ मा रहेका जापानी भाषा पढाउने ह्याण्ड्स फर हेल्प एजुकेशन माइग्रेशन सेन्टरका सञ्चालक हेटौंडा–२ बस्ने वर्ष २९ का अरुण बर्तौला छन् । हेटौंडा–४ मा रहेको साईराइज हाइएजुकेशन सञ्चालक हेटौंडा–६ बस्ने वर्ष २६ का रोशन लुईंटेल, हेटौंडा–४ मा रहेको अंग्रेजी भाषा पढाउने नेक्स्ट प्वाइन्ट एजुकेशन कन्सल्टेन्सी सञ्चालक हेटौंडा–४ का ३२ वर्षीय केशवराज सेढाईं, हेटौंडा–४ स्थित अंग्रेजी भाषा तथा विभिन्न विषयका ट्युशन पढाउने सगरमाथा एकेडेमी फाउण्डेशन अफ एजुकेशन कन्सल्टेन्सी सञ्चालक प्रज्ञाकुमारी श्रेष्ठका पति मकवानपुरको बागमती गाउँपालिका–७ बस्ने वर्ष ३२ का दीपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

जेनिथ फाउण्डेशन सञ्चालक हेटौंडा–५ बस्ने वर्ष २६ का दीपक घिमिरे र हेटौंडा–१० स्थित ग्रेस हेटौंडा एजुकेशनल कन्सल्टेन्सी सञ्चालक हेटौंडा–५ बस्ने वर्ष ३८ का उत्तम अर्याल पनि पक्राउ परेका छन् । उनीहरुले कक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालय वा स्थानीय प्रशासनको स्वीकृति नलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्