नदीजन्य पदार्थ अवैध उत्खनन रोकिएन



हिक्मत नेपाली, दैलेख ।
दैलेख जिल्लाका विभिन्न नदी तथा खोलाबाट गिट्टी, बालुवा र ढुंगा अवैध उत्खनन र निकासी अझै रोकिएको छैन । स्थानीय प्रशासन र तहले गिट्टी बालुवाको ओसार–पसार रोक्न निर्देशन दिए पनि व्यवसायीले जभाभावी गिट्टी बालुवा उत्खनन गर्न छोडेका छैनन् । भदौं मसान्तसम्म जिल्ला भित्रका कुनै पनि खोलाबाट गिट्टी–बालुवा निकासी गर्न नपाइने नियम भए पनि त्यसको बेवास्ता हुँदै रातारात गिट्टी, बालुवा र ढुंगा अवैध उत्खनन र निकासी हुँदै आएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय दैलेखले गत असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो  ।

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले रातिको समयमा प्रहरी परिचालन गरेर अवैध बालुवा गिट्टी नियन्त्रणमा लिइरहेको बताए । उनले सवारी साधनलाई जरिवाना समेत गरिएको बताए ।

विकास निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी, उपभोक्ता समिति लगायतले अवैध रूपमा उत्खनन गरिएको गिट्टी–बालुवा प्रयोग गर्दै आइरहेको पाइएको छ  । अव्यवस्थित ढुंगा, गिट्टी र बालुवा उत्खननले कर्णाली राजमार्गका पुलमा क्षति हुने क्रम बढ्दै गएको स्थानीयको भनाई छ । क्रसर चलाएर गरिने जथाभावी उत्खनन्ले कर्णाली नदी र लोहोरे खोलाको दोभानमा रहेको तल्लो डुङ्गेश्वरमा रहेको पुल जोखिममा पर्न थालेको छ ।

डुङ्गेश्वर पुलको पिलरमुनिबाटै ढुंगा, गिट्टी र बालुवा मनलाग्दो तरिकाले निकाल्दा जोखिम बढेको स्थानीय पूर्ण थापाले बताए । ‘यो पुलको विकल्प अरू छैन, तर गिट्टी बालुवा उत्खनन जथाभावी गर्दा जोखिम बढेको छ,’ उनले भने, ‘स्थानीय सरकारले पनि उत्खनन रोक्न सक्रियता देखाएन ।’ स्थानीयका अनुसार यहाँको गिट्टी बालुवा अन्यत्र जिल्लामा समेत पुग्ने गरेको छ ।

पुलको एक सय मिटर नजिकबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न नपाउने नियम भए पनि व्यवसायीले बेवास्ता गरेका छन् । कर्णाली बगर वरपरका बस्तीसमेत जोखिममा परेको स्थानीयको भनाइ छ । खोला आसपासमा झन्डै दुई सय घरधुरीको बसोबास छ । खोला नजिकैको नमुना बस्तीका बासिन्दासमेत जथाभावी उत्खननले बस्ती जोखिममा परेको भन्दै चिन्तित छन् । दिउँसो रोकिए पनि गिट्टी बालुवा रातको समयमा ओसारपसार हुने गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले बताए । उनले रातको समयमा ओसारपसारमा संलग्नलाई पक्राउ गरिएको बताए । ‘कानुन बनाएर मात्र भएन, पालना गर्न पनि उत्तिकै आवश्यक छ,’ उनले भने, ‘प्रहरीले मात्र एक्लै केही गर्न सक्दैन ।’

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले रातिको समयमा प्रहरी परिचालन गरेर अवैध बालुवा गिट्टी नियन्त्रणमा लिइरहेको बताए । उनले सवारी साधनलाई जरिवाना समेत गरिएको बताए ।

तल्लो डुङ्गेश्वर, चुप्रा खोला, लोहोरे खोला, छामघाट खोला लगायतका स्थानहरूबाट भदौंसम्म बालुवा गिट्टीको निकासी रोक्ने निर्णय सबैलाई जानकारी गराइएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले बताए । ‘यो वर्षको असार अन्तिममा पुनः गिट्टी बालुवा संकलनको लागि ठेक्का खोल्नुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म प्रदेश सरकारले जिम्मेवारी तोकेको छैन् ।’

स्थानीय तह मातहत रहेका खोलाबाट उत्खननका लागि स्थानीय तह वा जिल्ला समन्वय समिति मध्ये कसले सूचना खोल्नेबारे अन्योल रहेको प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्