चिउरी रोपेर प्रदेश ३ मा फलफूल वर्षको शुभारम्भ



कृष्ण आचार्य, चितवन ।

भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ मा आजदेखि फलफूल वर्ष–२०७५ को शुभारम्भ गरेको छ ।

प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११ आँपपानीमा २०० चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरेका हुन् ।

सोही अवसरमा प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने अभियानका रुपमा फलफूल वर्ष शुभारम्भ गरिएको बताए । नेपालमा बर्सेनि करोडौंको फलफूल आयात हुने गरेकाले त्यसलाई कम गर्दैै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने उनको दाबी छ ।

सामुदायिक वनलाई उत्पादनशील बनाउन फलफूल खेतीको विकल्प नरहेको मन्त्री लामाले बताए । सबै जनतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नका लागि पनि फलफूल रोप्ने अभियान सञ्चालन गरेको उनले जानकारी दिए । उनले युवालाई रुचिअनुसारको तालिम दिएर कृषि उद्यमी बन्नेतर्फ अग्रसर गराइने बताए । युवालाई नेपालमै बसेर नेपालमै केही गर भन्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिएको मन्त्री लामाको भनाइ छ ।

वनमा रोपिएका विरुवाको संरक्षणको दायित्व स्थानीयको हुने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । चिउरी रोपेसँगै चितवनमा मौरीपालन फस्टाउने मन्त्री लामाको विश्वास छ ।

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले प्रदेश नम्बर ३ को सम्मृद्धि नै कृषि र पर्यटन र जलविद्युत्बाट सम्भव भएकाले कृषिलाई सबैभन्दा माथि राखिएको बताए । ‘वन नेपालको धन’ भन्ने गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजान सकिएको थिएन’, उनले भने, ‘अब प्रदेश सरकारले त्यसलाई सार्थक बनाउँछ ।’

चितवनको पहाडी क्षेत्रमा चिउरीको राम्रो उत्पादन हुने गरेको छ । चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरीको बिरुवा रोपिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए । प्रदेशका ५० बटा स्थानीय तह र २०० सामुदायिक तथा कबुलियती वनसँग मिलेर फलफूल रोप्ने अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रदेशका ४५० युवालाई तालिम दिएर फलफूल रोप्नका लागि आंशिक रोजगारको व्यवस्थासमेत गरिएको उनले बताए । चितवनमा मात्रै चिउरी रोप्नका लागि १६ जना युवा परिचालन गरिएको छ ।

स्वास्थ्यका लागि चिउरीको मह लाभदायक हुने भएकाले यसको माग बढ्दो छ । पहिला चेपाङहरुले मात्र प्रयोग गर्ने चिउरी समयक्रमसँगै बहुआयामिक जडिबुटीजन्य औषधि बन्न पुगेको छ । स्वास्थ्य विज्ञानका अनुसार चिउरीको घिउ कोलस्ट्रोलरहित हुने हुँदा मानव स्वास्थ्यको लागि लाभदायक मानिन्छ । चिउरी बजारमा प्रतिकेजी ७० रुपैयाँको दरले बिक्री हुने गरेको छ । कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा वराल, उपमेयर इमानसिंह लामालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्